मुसिकोट । रुकुम पश्चिममा भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्लाको भूकम्प प्रभावित क्षेत्र चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मको टोलीले अस्थायी आवास निर्माण गरिरहेको छ ।
पुस ५ गतेसम्मको सशस्त्रले चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा १६ वटा अस्थायी आवास निर्माण गरेको सशस्त्र प्रहरी निरीक्षक जालान्धर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिकामा ९ र त्रिवेणी गाउँपालिकामा ७ वटा अस्थायी आवास निर्माण गरिएको हो ।
सो अनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको ४, वृद्धअवस्थाको ३, बिरामीको ३ र विपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरीले जनाएको छ ।
अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरी तैनाथ गरिएको छ। यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिट्टै फौज परिचालन गरिने छ।
यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भूकम्प पीडितको पहिचान गरी फौज परिचालन गर्ने योजना रहेको छ।
अस्थायी आवास निर्माणका लागि जिल्लाभर ३५ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।


