चौरजहारीमा भूकम्प प्रतिरोधी नमूना घर हस्तान्तरण

चौरजहारीमा भूकम्प प्रतिरोधी नमूना घर हस्तान्तरण

मुसिकोट । भूकम्प प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६ फारुलामा बनाईएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।

गत कात्तिक १७ गते गएको भूकम्पले पूर्ण रुपमा भत्किएका ३ वटा २ कोठाको घर आज एक कार्यक्रमका बिच चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

स्थानीय काली बहादुर कामी, कमल बिक र शशिराम बोहराको परिवारलाई नगर प्रमुख बादीले घरको चाबि हस्तान्तरणसँगै न्यानो कपडा समेत उपलब्ध गराउनु भएको हो । कार्यक्रममा नगर प्रमुख बादीले नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहनुभएका पूर्व नगर प्रमुख बिशाल शर्माको नेतृत्वमा पार्टीले नमूना घर निर्माण गरेर उदाहरणिय कार्य गरेको बताउनुभयो ।

भूकम्प प्रतिरोधी नमुना घर निर्माणको अगुवाई गर्नुभएका पूर्व नगर प्रमुख शर्माले दुई महिनासम्म त्रिपालको सहारामा चिसो रात बिताउँदै आएका तीन परिवारका १६ सदस्यहरु अब आनन्दले सुरक्षित घरमा सुत्न पाउने बताउनुभयो ।

घर हस्तान्तरण कार्यक्रममा पूर्व नगर प्रमुख शर्माले तीन घर निर्माणको क्रममा परिचालन भएको जनशक्ति र खर्चको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार तीन वटा भूकम्प प्रतिरोधी नमुना घर निर्माणको लागि चार लाख ८१ हजार ३२१ रुपियाँ खर्च भएको छ भने ५८३ जनाले श्रमदान गरेका छन् । विपद्को बेला गरेको श्रमको खर्च अमूल्य रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

शर्माले खर्च भएको रकम मध्य सरकारले अस्थायी आवास निर्माण वापत दिने तीन परिवारको जम्मा रकम एक लाख ५० हजार, धादिङका राजन खतिवडाले २५ हजार, चौरजहारी अस्पतालका प्रमुख डिलबहादुर गिरीले ५० हजार, जहारीखोला सहकारी सस्थाबाट २५ हजार र चौरजहारी नगरपालिका वडा नम्वर १२ का लोकेन्द्र देवकोटाले २५ हजार सहयोग गर्नुभएको जानकारी दिनुभयो ।

त्यसैगरी बाँकि खर्च मध्य तीन परिवारले प्रतिपरिवार ३५ हजार र बाँकि खर्च आफूले व्यक्तिगत रुपमा बेहोरेको प्रष्ट पार्नुभयो ।

त्यस्तै भूकम्पका कारण चौरजहारीमा मात्रै अहिलेसम्म ६ हजार २ सय ७९ घरपरिवारले क्षति बेहोरेको तथ्यांक संकलन भएको छ । यसमध्ये जम्मा २ सय ६५ वटा मात्रै अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार