एउटै गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री

एउटै गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री

रुकुमपश्चिम। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट यसवर्ष ६ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक रोपनी जग्गामा औसतमा तीन सय केजी अदुवा उत्पादन हुने गरेको छ । गाउँपालिकाभित्र दुई हजार ६०० परिवारले रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा खेती गर्ने गरेका छन् ।

अदुवा गाउँमै क्विन्टलको चार हजार रुपैयाँका दरले बिक्री गरिएको छ। व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताउनुभयो ।

२० वर्षदेखि अदुवा खेतीमा लाग्नुभएका उहाँले यस वर्ष साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल अन्य उपभोगका लागि प्रतिक्विन्टल चार हजारदेखि आठ हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिनुभयो ।

त्रिवेणी–४ खुम्चेरीका किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको बताउनुभयो। ३० वर्षदेखि कृषि पेसा गर्दै आउनुभएका उहाँले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको जानकारी दिनुभयो ।

अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजारसम्म बिक्री भएको उहाँको भनाइ छ । यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको पनि उहाँले जानकारी दिनुभयो । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार