महासचिव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरेको केन्द्रिय सदस्य केसीकाे आरोप

महासचिव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरेको केन्द्रिय सदस्य केसीकाे आरोप

महासचिव गुरुङ र बैकल्पिक केन्द्रिय सदस्य केसी

मुसिकोट । नेकपा माओवादीका बैकल्पिक केन्द्रिय सदस्य गोर्खबहादुर केसीले पार्टीका महासचिव देव गुरुङले भूकम्प पीडितको राहतमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

चिनियाँ महिला कुटपिट प्रकरणमा पार्टीलाई स्पष्टीकरण दिदै वैकल्पिक केन्द्रीय सदस्य तथा आठबिसकोट नगरपालिकाका पूर्व नगर प्रमुख केसीले महासचिव गुरुङ माथि छानबिनको माग गरेका छन् ।

गुरुङले आफन्तका लागि चिनियाँहरूको प्रोजेक्ट मिलाएको र सोहि प्रोजेक्टबाट भूकम्प पीडितको राहतमा भ्रष्टाचार भएको आरोप लगाएका छन् । सो प्रोजेक्टबाट भ्रष्टाचार गरेर हुने आम्दानीमा गुरुङ समेत हिस्सेदार रहेकोले उनीमाथि छानबिन हुनुपर्ने माग केसीको रहेको छ ।

स्पष्टीकरणमा केसीले माओवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी समेतको दबाबमा देव गुरुङले आफूलाई पार्टीबाट निकाल्न स्थायी कमिटीमा प्रस्ताव गरेको दाबी गरेका छन् । गत शनिवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उनलाई स्पष्टीकरण सोधेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० मा रिम्नामा कुटपिट गरेको आरोप लागेको छ ।

केसीले पठाएको स्पष्टीकरणमा घटनाको पृष्ठभूमि, आठबिसकोट नगरपालिकामा सामान लुटिएको सन्दर्भमा भएको छलफल सन्दर्भसहित स्पष्टीकरणको विस्तृत विवरण उल्लेख गरेका छन् ।

जसमा मंसिर १८ गते साँझ महासचिव गुरुङ, प्रदेश इन्चार्ज मातृका यादव र प्रदेश अध्यक्ष केसी आफ्नो घरमा बास बस्न पुगेको उल्लेख गरिएको छ । सो क्रममा ग्लोबल कोअपरेशन फर डेभ्लोमेन्ट नामक चिनियाँ संस्थाका कन्ट्री मेनेजर मुक्ति मरासिनीसँग आफ्नो चिनजान गराइएको स्पष्टीकरणमा उल्लेख छ । तर, जाजरकोट पठाएको भूकम्प प्रभावितको राहत सामग्री काठमाडौँमा भनिएको भन्दा कमसल भएको पाइएपछि यसबारे आफूले सोधपुछ गरेको उनको भनाइ छ ।

जवाफमा मुक्तिले आफ्नो बचाउ गरेको उनको भनाइ छ । बरु मरासिनीले राहत सामान दुरुपयोग गर्न गुरुङकै अगाडि आफूलाई उक्साएको तर महासचिव मौन बनिदिएको उनको स्पष्टीकरणमा उल्लेख छ । यही विषयमा भएको मतभेदपछि देव गुरुङ आफ्नो घरबाट बास छाडेर हिँडेको पनि उनको दाबी छ ।

आफ्नो घरमा लुटको धन्दाको सामग्री नराख्न भनेर मरासिनीलाई भनेको र सोहीअनुसार सामाग्री निकाल्ने क्रममा आफूले घोटाला भएको सामानबारे सोध्दा चिनियाँ महिला गाडीबाट निस्केर विवाद निकालेको उनको दाबी छ । ती महिलाले अङ्ग्रेजीमा आफूलाई गाली गरिरहेपछि आक्रोशित बन्दै आफूकहाँ काम गर्ने १२ कक्षा पढ्दै गरेको युवकले आवेगमा आएर महिलाको गालामा झापड लगाएको केसीले बताएका छन् ।

केसीका अनुसार, ‘ती महिला म भएतिर नआएर ती सामान लोड गर्ने मजदुर भएतिर गइन् र उनीहरू अगाडि उभिएर भाषण सुरु गरिन् । यसलाई तिमिहरूले पहिला किन भोट हालेको ? अब यसलाई भोट नगर्नु, यसले मलाई दुःख दियो, भन्दै थिइन । मेरो स्टाफले दाइलाई भोट नहाल भन्ने त को होस् ? भनेर गालामा बेस्सरी झापट लगाई हाल्यो । हाम्रो अफिसमा १ महिना देखि मात्र काम सुरु गरेको र १२ कक्षा पढ्दै गरेको केटो त्यस प्रकारको आक्रामक होला भन्ने सोचिएन । त्यो महिला रन्थनिँदै ५,७ फिट टाढा गएर लडिन् । उनलाई पहिल्यैदेखि सम्हाली रहेको नेपाली केटोले उठाएर गेट बाहिर लिएर गाडीमा राख्यो । मैले कामदारहरूलाई छिटो समान लोड गरिदिन भनेँ, मेरो स्टाफहरुलाई गाली गरे । भएको घटना यत्ति हो ।’

गुरुङ र विमलालाई मलाई कारबाही नगरी नहुने भन्ने लागेको भए अरू नै उपाय खोज्न पनि उनले सुझाएका छन् । उनले घटनापछि नयाँ र अनौठो मोड लिएको भन्दै सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले झापड हान्नेलाई २५ दिन थुनेर ५ हजार धरौटीमा छाडेको बताएका छन् । तर, चिनियाँ महिलाले भने मुद्दा दर्ता नगरेको उनको भनाइ छ ।

उनले देव गुरुङ प्रति आक्रोश पोख्दै दुनियाँ चहारेर पार नलागेपछि पार्टीमा आएजस्तो आफू नभएको बताएका छन् । आफूले आफ्नो ठाउँको जनता र कार्यकर्ताको मनमा थोरै भए पनि ठाउँ बनाएको भन्दै त्यही आफ्ना लागि काफी भएको बताएका छन् । उनले मरासिनी गुरुङ नातेदार रहेकाले गलत कार्यमा सघाएको आरोप समेत स्पष्टीकरणमा लगाएका छन् ।

आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफू माथि प्रहार भएको उनको आरोप छ । ‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङले नै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलार समेत रहेको भन्नुभएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठुला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो उनले भनेका छन् ।

स्पष्टिकरणमा केसीले भने अनुसारको सामान नभएको, पीडितको किर्ते हस्ताक्षर गरेर राहत रकम लुकाउन सल्लाह गर्ने गरेको आरोप लगाएका छन् । एक जनालाई दिने समान दश हजारको पनि नपुगेको तर सार्वजनिक रुपमा महासचिवले २३ हजार बराबरको भएको भन्दै हिडेको उक्त स्पष्टिकरणमा उल्लेख छ । पीडितहरुलाई दिने भनिएको सोलार समेत गायब पारिएको उहाँको भनाई छ ।

आठबिसकोट जाने सामान आफ्नै महासचिव र प्रदेश अध्यक्षबाट लुटिएको आरोप लगाउनुहुँदै केसीले आठबिसकोटमा समान नलिईएको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार