चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट

चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट

 रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ । जिल्लाका ६ वटा स्थानीय तह मध्य चौरजहारी नगरपालिका उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चौरजहारी नगरपालिकाले सबैभन्दा बढी नम्बर प्राप्त गरेको छ ।

आर्थिक वर्ष ०७९/८० को कार्यसम्पादनका आधारमा चौरजहारी नगरपालिकाले सबैभन्दा राम्रो नम्बर प्राप्त गरेको जिल्ला समन्वय समिति रुकुमपश्चिमका निमित्त जिल्ला समन्वय अधिकारी जितबहादुर ओलीले जानकारी दिनुभयो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा चौरजहारी नगरपालिकाले जिल्लाका अन्य स्थानीयतहरु भन्दा बढी अर्थात् ९३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । निमित्त जिल्ला समन्वय अधिकारी ओलीका अनुसार आठबीसकोट नगरपालिकाले स्वमूल्याङ्कनमा ९२ अङ्क प्राप्त गरेको छ भने त्रिवेणी गाउँपालिकाले ८७ अङ्क प्राप्त गरेको छ । त्यसैगरी, सानीभेरी गाउँपालिकाले ८१, मुसिकोट नगरपालिकाले ७३.७५ र बाँफिकोट गाउँपालिकाले ६८.५ अङ्क प्राप्त गरेका छन् ।

निमित्त जिल्ला समन्वय अधिकारी ओलीले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन लागि विभिन्न नौ वटा विषयमा रहेर मूल्याङ्कन हुने गरेको बताउनुभयो । यसमा शासकिय प्रबन्ध, सङ्गठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयको बिषयवस्तुमा आधारित भएर मूल्याङ्कन हुने गर्दछ ।

एक सय पूर्णाङ्कमा ४० भन्दा कम ल्याउनेलाई असफल मानिन्छ भने ४० देखि ८० अङ्क ल्याउनेलाई मध्यम र ८० भन्दा बढी ल्याउनेलाई उत्कृष्ट मानिन्छ । त्यसैगरी  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि चौरजहारी नगरपालिका अन्य पालिकाभन्दा उत्कृष्ट भएको छ । यसमा चौरजहारी नगरपालिकाले ९२, त्रिवेणी गाउँपालिकाले ९०.५ र आठबीसकोट नगरपालिकाले ८१ अङ्क प्राप्त गरेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाले ७२, सानीभेरी गाउँपालिकाले ७१.५ र बाँफिकोट गाउँपालिकाले ५८.५ अङ्क ल्याएका छन् ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन विभिन्न पाँच वटा विषयमा रहेर गरिन्छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, अनुगमन, लेखाङ्कन तथा प्रतिवेदन, मूल्याङ्ककन तथा लेखा परीक्षण र राजश्यक व्यवस्थापन शीर्षकमा अङ्क प्राप्त हुने व्यवस्था रहेको छ ।

यस मूल्याङ्नमा स्थानीय आर्थिक नीति तथा योजना, आर्थिक विकास पूर्वाधार, आर्थिक सशक्तिकरण र उद्यमशिलता विकास तथा औद्योगिक प्रर्द्धनका विषयवस्तुमा अङ्क प्रदान गरिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार