त्रिवेणी गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न

त्रिवेणी गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न

त्रिवेणी । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँसभाको दशौं  (हिउँदे) अधिवेशन सम्पन्न भएको छ ।

आइतबार अधिवेशनमा गाउँपालिका अन्तर्गत लेखा समिति संयोजक सुन्दर ओलीले आर्थिक वर्ष २०७९/०८० को महालेखा परीक्षणको प्रतिवेदनमा औंल्याइएका नियमित गर्नुपर्ने बेरुजूलाई सभामा पेश गर्नुभएको थियो । त्यस्तै विधायन समिति संयोजक मोतिराम पुनले यस नवौं अधिवेशनदेखि हालसम्म बनेका नियमावली, कार्यविधि तथा निर्देशिकाहरु अनुमोदनका लागि पेश गर्नुभएको थियो ।

उपाध्यक्ष एवं गाउँपालिकाको अनुगमन समितिका संयोजक राजकुमारी रेउलेले हालसम्मको अनुगमन प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका सबै प्रस्तावहरु गाउँसभाबाट स्वीकृत भएका छन् ।

यसैगरी गाउँसभाले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिसा) मा प्राप्त गरेको ८७ प्रतिशत र स्थानीय वित्तिय जोखिम मूल्यांकलनमा प्राप्त गरेको ९०.५ प्रतिशत अंकलाई अनुमोदन समेत गरेको छ ।

गाउँसभाले भूकम्प प्रभावितको लागि वितरण गरिएको राहत तथा अस्थायी आवासको हालसम्मको कार्यप्रगतिलाई अनुमोदन गर्दै अन्य समसामियक प्रस्ताव उपर छलफल गरी स्वीकृत गरेको छ ।

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको अधिवेशनमा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कृष्णबहादुर रोकायको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँसभामा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, सदस्य गीता नेपाली, पूर्व सदस्य टेकबहादुर ओली, भूमि आयोग जिल्ला अध्यक्ष मीनबहादुर ओली, त्रिवेणी गाउँपालिका पूर्व उपाध्यक्ष निर्मला विष्ट, नेकपा माओवादी केन्द्रका मोहनकिशोर ओली, नेपाली काँग्रेसका थलबहादुर खड्का र नेकपा एमालेका हरिबहादुर खड्का, विभिन्न सरोकारवाला निकाय लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार