कांग्रेसले गरेको त्यो सशस्त्र सङ्घर्ष

कांग्रेसले गरेको त्यो सशस्त्र सङ्घर्ष

विसं २००७ को जनक्रान्तिपछि नेपालमा एक शताब्दीको एकतन्त्रीय राणातन्त्र समाप्त भई प्रजातन्त्र स्थापना भएको थियो । राजा त्रिभुवनले शाही घोषणामार्फत प्रजातन्त्र घोषणा गर्दै भनेका थिए, “अबको शासन व्यवस्था नेपाली जनताले निर्वाचित गरेको संविधान सभामार्फत गणतान्त्रिक संविधान निर्माण हुने छ ।” दस वर्षसम्म संविधान सभा निर्वाचन नभई एकैपल्ट २०१५ सालमा संसद्को निर्वाचन भयो । कांग्रेसले दुई तिहाई बहुमत ल्याई प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । राजा त्रिभुवनको मृत्युपछि राजा महेन्द्रले पनि संविधान सभाको चुनाव न गराउनुको मनसाय कथंकदाचित् निर्वाचित संविधान सभाले गणतन्त्रात्मक संविधान पो बनाइदिन्छ कि भन्ने थियो । राजा त्रिभुवनको शाही घोषणामा गणतन्त्र भन्ने शब्दावली प्रयोग भएको थियो । यसैको अन्तर्निहित डरले राजा महेन्द्रले आफैँ नेतृत्वमा संविधान बनाई एकै पटक संसद्को चुनाव गराए । राजालाई कांग्रेसले बहुमत ल्याउन सक्दैन भन्ने लागेको थियो ।

यसका लागि राजाले अधिराज्यभरि आफ्नो संयन्त्रबाट सर्वे पनि गराएका थिए तर चुनावको परिणाम विपरीत आयो । कांग्रेसले दुई तिहाई बहुमत ल्याई दियो । राजा महेन्द्र हेरेको हेरै भए । कांग्रेसले दुई तिहाई बहुमत ल्याए पनि सरकार गठन गर्ने र शपथ ग्रहण गराउन तीन महिना ढिला गरे । नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री बिपीले शताब्दीदेखि सामन्ती शासकबाट शोषित र पीडित जनताका लागि केही क्रान्तिकारी समाजवादी कार्यक्रम ल्याए । भूमिमा आधारित अर्थतन्त्रलाई सामन्ती ढाँचाबाट समाजवादी ढाँचामा ल्याए । भू स्वामित्वलाई खारेज गरी विर्ता उन्मूलन, भूमिसुधार तथा जमिनदारी प्रथा अन्त्य र वनजङ्गलको राष्ट्रियकरण गरे । सहकारी व्यवस्था ल्याई गरिब र सीमान्तकृत वर्गलाई राहत पु¥याउने काम गरे । भूमिमा रहेका द्वैत स्वामित्वलाई अन्त्य गरी मोही–किसानलाई स्वामित्व प्रदान गर्ने नीति ल्याए ।

राजा महेन्द्र भने बिपी नेतृत्वको सरकारलाई कसरी असफल बनाउन सकिन्छ भन्नेतिर निरन्तर लागिरहे । स्वदेश तथा विदेशको भ्रमण गर्न थालियो । पश्चिम नेपालको भ्रमण गरी कांग्रेस सरकारको विरोधमा भाषण गर्दै भ्रष्टाचार र विदेशी हस्तक्षेप बढेको जस्तो नकारात्मक कुरा व्यक्त गर्न थालियो । योगी नरहरिनाथलाई हातमा लिई सरकारविरुद्ध नारा जुलुस गर्न लगाइयो । त्यति मात्र होइन राजा महेन्द्रले अमेरिका, रुस, जर्मनी, जापान भ्रमणमा गई आफ्ना अनुकूल वातावरण बनाउन थाले । सबैतिरको वातावरण अध्ययन गरी राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित संसद् र सरकारलाई सेनाको बलमा विघटन मात्र गरेनन् संसदीय प्रजातन्त्रको समेत हत्या गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । प्रधानमन्त्री, मन्त्री, सांसद र नेता कार्यकर्तालाई गिरफ्तार गरी सबैलाई जेलमा हाले ।

कांग्रेस सभापति बिपी कोइराला जेलमा रहेकाले उपसभापति सुवर्णशमशेरले स्वतः कावा सभापति भई काम गर्न थाले । उनले भारतमा गएका नेता र कार्यकर्तासँग छलफल गर्न थाले । कलकत्तामा रहेका प्रसिद्ध पत्रकार भोला चट्टर्जी (जो सातसालको जनक्रान्तिमा सहभागी थिए) ले पुस ३ गते सुवर्णशमशेरलाई भेटेर अब राजाविरुद्ध आन्दोलन गर्नु पर्छ । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र जेलमा रहेका बिपीसित समेत सल्लाह लिनु पर्छ भनेका थिए ।

भारतका प्रधानमन्त्री नेहरूले पुस ४ गतेका दिन लोक सभामा बोल्दै भनेका थिए, “नेपालमा भएको परिवर्तनको यस घटनाले भारतलाई खेद र चिन्ताको विषय पैदा गरेको छ । यस प्रकारको घटना विश्वको जुनसुकै भागमा घटे पनि हाम्रा लागि दुःखको कुरा हो । नेपाल जस्तो आफ्नो छिमेकी देशमा जससँग हाम्रो यति घनिष्ट सम्बन्ध छ, यस्तो घटना ज्यादै चिन्ताजनक छ ।” राजा महेन्द्रले बिपी नेतृत्वको सरकारलाई लगाएका आरोपका बारेमा नेहरूले भनेका थिए, “दोष र त्रुटि निकाल्न सजिलो छ तर उसको सामु धेरै ठुला प्रश्न छन्, सरकार सफल भयो भएन यो दोस्रो कुरा हो । मलाई थाहा छैन कि नेपालका राजाको यस कारबाहीको पछाडि के रहस्य छ । शाही घोषणामा नेपालका राजाले जुन आरोप लगाएका छन् त्यो अस्पष्ट छ ।”

यसरी नेहरूको भाषण आए सकेपछि सुवर्णशमशेरले पुस ५ गतेका दिन जयप्रकाश नारायणलाई भेट्न गए । उनले नेपालमा अब जनआन्दोलन सुरु गर्नु पर्ने सुझाव दिए । त्यसपछि सुवर्णले भारतका विपक्षी दलका नेता अशोक मेहता र देवेन्द्रप्रसाद सिंहसित पनि भेटेका थिए । भारतका राजनीतिक दलले नेपालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि आआफ्ना सम्मेलनमा ठुलो विरोध गरे । मुम्बईमा पुस २० गते भएको भारतीय कम्युनिस्ट पार्टीको राष्ट्रिय परिषद्को अधिवेशनमा नेपालका र बाहिरी प्रतिक्रियावादी तत्वको उस्काहट, नेपालका सामन्ती वर्गका हितको रक्षा क्रियावादी तत्वको उस्काहट र नेपालका सामन्ती वर्गको हित रक्षा गर्न राजा महेन्द्रले लोकतान्त्रिक शासनलाई उल्टाए भन्दै नेपाली जनताको प्रजातान्त्रिक सङ्घर्षलाई सबै प्रगतिशील र प्रजातान्त्रिक तत्वहरूको सहयोग र समर्थन रहने छ भनी प्रस्ताव नै पारित गरे ।

राजा महेन्द्रले शाही घोषणामा पुस २२ गते नेपालका सबै दलमाथि प्रतिबन्ध लगाए र बहुदलीय व्यवस्था अन्त्य गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गर्ने घोषणा गरे । राजा महेन्द्रको उक्त घोषणाबाट भारतका प्रधानमन्त्री नेहरू पनि सतर्क भए किनभने नेपालमा उनले आफ्नो पकडको सरकार चाहेका थिए । नेपालमा बिपीको सरकारलाई उनले मन पराएका थिएनन् । यो कुरा बिपीको आत्मवृत्तान्त र जेल जर्नलमा पनि उल्लेख छ ।

भारतीय नेताहरूको प्रतिक्रिया बुझेपछि सुवर्णशमशेरले बिपीको विचार बुझ्ने माध्यम खोज्न थाले । यसैबिच नेतृ नोना कोइराला पटना पुगिन् । बिपीका साथी देवेन्द्रप्रसाद सिंहलाई केही पुस्तक र पत्रिकामा अक्षरमा चिह्न लगाएर बन्दी अवस्थामा रहेका बिपीसँग वार्ता गर्न सकिने माध्यम तयार भएको जानकारी नोनाले दिईन् । त्यसपछि यहीँ माध्यमबाट नै सुवर्णशमशेरले बन्दी रहेका बिपीसँग ‘अब के गर्ने’ भनेर सोधी पठाए । बिपीले पनि सोही माध्यमबाट नै सुवर्णशमशेरलाई सन्देश पठाए– तपाई पूरा अधिकार सम्पन्न हुनुहुन्छ, तपाईंले जुन लाइन लिए पनि मलाई मान्य छ । त्यसपछि सुवर्ण राजाको कदमविरुद्ध सशस्त्र आन्दोलन गर्ने निर्णयमा पुगे । नेहरूसँग पनि सहमति लिए । भारतका सबै राजनेताबाट आश्वासन पाएपछि सुवर्णशमशेरले पटनामा २०१७ साल माघ १२ गतेदेखि १४ गते (सन् १९६१ को जनवरी २५ देखि २७) सम्म कांग्रेसको कार्यकर्ताको एउटा सम्मेलन गर्ने निर्णय गरे । उक्त सम्मेलनमा कांग्रेसका अतिरिक्त अन्य पार्टीका नेता कार्यकर्ता पनि सामेल थिए ।

सम्मेलनमा कांग्रेसका ३६ जना नेपाली राष्ट्रवादी गोरखा परिषद्का दुई जना र नेपाल प्रजा परिषद् (मिश्र गुट) का एक जना थिए । सम्मेलनमा करिब १३० जनाको उपस्थिति थियो । सम्मेलनको उद्घाटन गर्दै सुवर्णशमशेरले भने, “सरकारमा जति व्यक्तिगत एवं राजनीतिक इमानदारी छ, हाम्रो मन्त्रीमण्डल र संसद् त्योभन्दा अलिकति पनि कम इमानदारी थिएन । तसर्थ राजाबाट संसद् भङ्ग गर्दा लगाइएका सबै लान्छना, झुठा र आफू अधिनायक बन्ने दुष्प्रवृत्तिका लागि लगाइएका लान्छना हुन् भनी म दृढताका साथ भन्न चाहन्छु ।”

आफ्ना मागप्रति राजाले कुनै वास्ता नगरेकोले छिटोभन्दा छिटो राजाको निरङ्कुशतन्त्र समाप्त पार्न हिंसात्मक आन्दोलन चलाउन व्यग्र थियो कांग्रेस । यस्तो स्थितिमा सुवर्णशमशेरले हिंसात्मक सङ्घर्ष गर्नु पर्छ भन्ने पार्टीका कार्यकर्तालाई चित्त बुझाउन र राजा महेन्द्रलाई पनि वार्ताका लागि तयार हुने स्थितिको सिर्जना गर्न दबाब दिन सशस्त्र आन्दोलन गर्ने कुरालाई स्वीकार गरे । नेपालमा २०१८ साल कात्तिक २६ गते (११ नोभेम्बर) क्रान्ति दिवसका दिनबाट सशस्त्र आन्दोलन सुरु गर्ने घोषणा गरे । यसरी सशस्त्र आन्दोलनको निर्णय गरिएपछि कांग्रेसका महामन्त्री परशुनारायण चौधरीले भनेका थिए, “दमनले घृणा उत्पन्न गर्दछ र घृणा नै हिंसाको पहिलो पाइला हो । जनताले शान्तिपूर्वक आन्दोलन गर्ने उद्देश्य राखेका थिए । परिस्थितिले बाध्य भई हिंसाको सहारा लिनु प¥यो ।”

सशस्त्र आन्दोलन सञ्चालन गर्न नेपाललाई विभिन्न क्षेत्रमा विभाजित गरी नेताहरूलाई जिम्मा लगाइयो । विभिन्न शिविर क्याम्प स्थापना गरियो । कांग्रेसले सशस्त्र आन्दोलन सञ्चालन गर्न आफ्नो कार्यकर्तालाई गुरिल्ला तालिम दिने र हातहतियार सङ्कलन गर्ने काम गर्न थाल्यो । सशस्त्र आन्दोलनले पूर्वी पहाडी क्षेत्रमा राम्रो प्रभाव पारेको थियो । पूर्वी पहाडमा प्रहरी चौकीमाथि समेत आक्रमण गरी कब्जा जमाइयो । कति ठाउँमा प्रहरी थानामाथि आक्रमण गरी हातहतियार र नगदसमेत लुटिएको थियो ।

भोजपुरमा २०१९ साल जेठ २ गतेका दिन कटुञ्जे भन्ने ठाउँमा कांग्रेसका क्रान्तिकारी प्रहरीबिच मुठभेड भयो र घण्टौँसम्म दुवैतर्फबाट गोली चल्यो । जेठ ७ गते दिल्पा प्रहरी चौकीमाथि क्रान्तिकारीले आक्रमण गरी कब्जा गरेर हातहतियार लुटी प्रहरी चौकीमाथि आगो लगाइदिएका थिए । जेठ १० गते बैराङ्गको वान्ताङ भन्ने ठाउँमा सरकारी फौज र क्रान्तिकारीबिच मुठभेड भइ घण्टौँसम्म गोली चल्दा एक जना सरकारी कर्मचारीको मृत्यु भयो । सरकारी फौजले पक्रिन खोज्दा केही क्रान्तिकारी उम्केर धेरै भारतका शिविरमा फर्किएका थिए ।

चीनले तिब्बत कब्जा गरेपछि भारतीय प्रमुखमा रहेका अरुणाञ्चल प्रदेश (नेफा) का अधिकांश भाग अकसाई चीनलगायत केही ठाउँ चीनको कब्जामा गएकाले भारत–चीन वैमनस्यता बढ्दै गइरहेको थियो । चीनले नेपाललाई सताइरहेको थियो । चिनियाँ सैनिक गतिविधि नियाल्न नेपालको उत्तरी सीमामा भारतले सैनिक पोस्ट राख्न नेपाललाई भित्रभित्र मिलाइसकेको थियो । त्यस अनुसार भारतीय सेना नेपाल आइसकेको थियो ।

बिपी नेपालको प्रधानमन्त्री हुनुभन्दा दुई महिनाअघि मात्र दलाई लामा तिब्बतबाट भारत निर्वासनमा आइसकेका थिए । त्यसपछि तिब्बती शरणार्थी नेपाल भएर भारत जान लागेका थिए । केही हजार तिब्बती शरणार्थी नेपाल पनि आइसकेका थिए । यसबारे अमेरिकाले पनि चासो राख्न थालिसकेका थिए । चीनसित सम्बन्ध सुधारिरहेका बिपी नेपाली भूमि यस काममा प्रयोग हुन नदिने पक्षमा उभिए । बिपीले सार्वजनिक रूपमै नेपालको उत्तरी सीमाबाट भारतीय आउट पोस्ट हटाउनु पर्छ भनेका थिए । उता अमेरिका यसको विपक्षमा थियो । बिपीले राष्ट्रिय अडान लिँदा चीन र अमेरिका दुवै रिसाए । भारत त बिपीसित पहिलादेखि नै रिसाएकै थियो । किनकि भारतलाई नेपालमा आफू अनुकूलको सरकार चाहिएको थियो । भारतको आड पाएर खास गरी नेहरूको अप्रत्यक्ष इसारामा २०१७ पुस पुस १ गते राजा महेन्द्रले सैनिक ‘कु’ गरेका थिए ।

तराई क्षेत्रमा भएका भिडन्त

तराईको महोत्तरी जिल्लाको जलेश्वरमाथि क्रान्तिकारीले २०१८ साल मङ्सिर ३ गते आक्रमण गरे । केही क्रान्तिकारी पक्राउ परे पनि उनीहरूले ठुलो पुल नजिकै रहेको सेनाको ब्यारेकमा भने आगो लगाउन सफल भएका थिए । यसको खबर बोधप्रसाद उपाध्यायले २०१८ मङ्सिर ४ गते कलकत्तामा सुवर्णशमशेरलाई आवामार्फत खबर गरेका थिए । २०१८ चैत ७ गते क्रान्तिकारीले महोत्तरी (हाल धनुषा) को महिनाथपुर रेलवे स्टेसनको सशस्त्र प्रहरी चौकीमाथि आक्रमण गरे । दुवैतर्फबाट गोली हानाहान भएको थियो ।

सुनसरीको देवानगन्जको प्रहरीचौकीमा २०१८ चैत १७ गते आक्रमण गरी आगो लगाइदिएका थिए । गोली हानाहान भए पनि कोही हताहत भएनन् । त्यस्तै २०१८ चैत २० गते क्रान्तिकारीहरूले सिराहाको इनरुवा भन्सार अडामा आगो लगाई ध्वस्त पारिदिएका थिए । २०१८ चैत २८ गते झापाका क्रान्तिकारीले सतिघट्टा भन्सार चौकी लुटेका थिए । त्यस्तै झापाकै पाठामारी चौकीलाई आक्रमण गरी ध्वस्त बनाइदिएका थिए ।

२०१८ माघ ३ गते राजा महेन्द्रको विराटनगर भ्रमणको समयमा क्रान्तिकारीले रङ्गोली रोडको पुलको साथै स्वागत द्वार भत्काइदिएका थिए । फागुन ३ गते विराटनगरको भन्सार अड्डा, माल अड्डा र त्यहाँ जेल नजिकै विस्फोट गराएका थिए । फागुन ११ गते विराटनगर गोश्वाराका सुब्बा इन्द्रप्रसाद काफ्लेको घरमा बम प्रहार गरेका थिए । सिराहाको माडर भन्सारमा २०१९ जेठ १२ गते आक्रमण गरी ध्वस्त बनाइदिएका थिए । गोली हानाहानमा दुई जना प्रहरीको मृत्यु भएको थियो ।

त्यसै गरी २०१९ असार १३ गते राजविराजको लालपट्टी प्रहरी चौकी आक्रमणपछि कब्जा गरी ध्वस्त पारिएको थियो । त्यही क्रममा देवनारायण देव र एक प्रहरीको मृत्यु भएको थियो । २०१९ जेठ १४ गते सप्तरीको हनुमाननगरमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा बजार अड्डा र प्रहरी थानामाथि आक्रमण गरी कब्जा गरेका थिए । उता जनकपुरमा सरोजप्रसाद कोइरालाको नेतृत्वमा जनकपुरमा राजा महेन्द्रको भ्रमणमा बम विस्फोट गर्ने योजना बनाइयो । २०१८ माघ ९ गतेका अरविन्द ठाकुरले जनकपुर हवाई अड्डामा फूलको मालाभित्रै बम लुकाएर उभिएको बेला प्रहरीले सुइको पाएका उनलाई गिरफ्तार गरियो । राजाको सवारी राम जानकी मन्दिरको दर्शन गरेर नागरिक अभिनन्दन समारोह स्थल जाने क्रममा दुर्गानन्द झाले फूलमालासहित बम फाले । बम गाडीको पछाडिपट्टि लागि क्षतिग्रस्त भयो । राजाले लगाएको कोट जल्यो । जोगी साह घटनास्थलमै गिरफ्तार भए र दुर्गानन्द झा र दलसिंह थापा भाग्न सफल भए ।

आजका क्रान्तिकारीले सबै थोकको जस लिने गरेका छन् । हाम्रै कारण देशमा परिवर्तन आयो । कांग्रेसले मुलुकमा प्रजातन्त्र स्थापना गर्न कति सङ्घर्ष गरेको थियो भन्ने कुरा आज ओझेलमा पारिएको छ । मुलुकमा परिवर्तन गरेर जनतालाई सुखी र मुलुकलाई समृद्ध बनाउने चाहना स्वरूप कांग्रेसले निरङ्कुश पञ्चायविरुद्ध सशस्त्र सङ्घर्ष छेडेको हो । गोरखापत्र

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार