गाराघाट पुलको काम अब ३० प्रतिशत बाँकि

गाराघाट पुलको काम अब ३० प्रतिशत बाँकि

मुसिकोट । सात वर्षअघि निर्माण सुरु गरिएको सानीभेरी गाराघाट पुलको काम ७० प्रतिशत पुरा भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले पुल निर्माण हुन अब ३० प्रतिशत काम बाँकि रहेको जनाएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने गरी गाराघाटमा २०७३ सालमा पुलको काम सुरु गरिएको थियो । सानीभेरी नदि माथीको उक्त पुलको डिजाईन परिवर्तन गरेपछि भने अहिले काम तिब्र रुपमा भैरहेको छ ।

तीन वर्षमै निर्माण सम्पन्न हुने गरि २०७३ असार ३१ गते उक्त पुल निर्माणको लागि सम्झौता भएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता गर्दाको बेला पुलको डिजाईन ‘पायल’ फाउण्डेशनमा आधारित थियो ।

सो फाउण्डेशनबाट उक्त स्थानमा पक्कि पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउण्डेशन डिजाईन गरिएको छ । डिजाईन परिवर्तनपछि काम तिब्र भएको र हालसम्म करिब ७० प्रतिशत प्रगती भएको डिभिजन प्रमुख शर्माले बताउनुभयो । हालसम्म कार्य प्रगतीको आधारमा निर्माण व्यवसायीलाई चार करोड ६४ लाख रकम सडक डिभिजन कार्यालयले भुक्तानी गरिसकेको छ ।

उक्त पुल निर्माणका नागार्जुन कन्ट्रक्सन कम्पनीले भ्याट रकम बाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । अहिले पुलको फाउण्डेशन निर्माण भएर तल्लो भागको दुबै तर्फको काम पुरा भएको छ । माथिल्लो तर्फको एक भाग पुल निर्माण भईसकेको छ भने अर्को भागको काम भैरहेको छ ।

ठेकेदारले यहि गतिमा काम गरेमा चालु वर्षमै पुल निर्माण भैसक्ने डिभिजन प्रमुख शर्माले बताउनुभयो । आगामी असार मसान्तभित्र काम सक्नेगरी म्याद समेत थप भएको जनाईएको छ ।

निर्माण कम्पनीले विगतमा फाउण्डेशन परिवर्तनमा ढिलाई भएको, कोरोना लगायतका महामारीले सामाग्री ढुवानी र कामदार परिचालनमा समस्या भएकोले समयमै पुन निर्माण हुन नसकेको बताउँदै आएको छ । पुल निर्मांणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाई हुने गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार