निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, सबैको सनाखत

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, सबैको सनाखत

बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । रुकुम पश्चिमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ की कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताउनुभयो ।

बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उहाँले बताउनुभयो । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार