राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरिएको छ। मंगलबार भएको मन्त्री स्तरीय निर्णयले यो कार्यक्रम यस बर्ष स्थगित गर्ने निर्णय गरेको हो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा यस आर्थिक वर्षमा धेरै समस्या देखिएको, गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतको कार्यक्रमको प्रभावकारिताको विश्लेषण सम्बन्धमा प्रश्नहरू उठेको, चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनौटको कार्यमा ढिलाइ भएकोले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको छलफलमा विभिन्न विषय उठेका थिए। तिनको सम्बोधनका लागि बसेका बैठकमा विभिन्न निर्णय भएका छन्।

विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ।

विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकारमा रहेकाले स्थानीय तहको माग र आवश्यकताका आधारमा यसको कार्यान्वयन गर्न आवश्यक देखिएकाले आगामी आर्थिक वर्षमा मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमूना सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि आवश्यक रकम विनियोजन गर्न अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। यससँगै जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि समेत आवश्यक बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको छ।

यस्तै बैठकले आगामी आर्थिक वर्षमा  नमूना सामुदायिक विद्यालय भवन निर्माण र भूकम्प प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधारका लागि विनियोजित बजेट मध्येबाट आवश्यक स्रोतको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने समेत निर्णय गरेको छ। न्युज अफ नेपाल बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार