बाढी पहिरोबाट नौ जनाको मृत्यु

बाढी पहिरोबाट नौ जनाको मृत्यु

काठमाडौँ ।  राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–११ मा खोला तर्ने व्रmममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो । शनिबार साँझ भ्याकुरे खोला तर्ने व्रmममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी रहेको गौतमले बताउनुभयो ।

खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन् । काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ ।

स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ । ६६ वर्षीय माधव शर्मा बेपत्ता छन् । लम्साल परिवारका पाँच जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । बाढीका कारण दाङमा दुध बेच्न गएका एक किसान र दोलखामा एक महिला बेपत्ता छन् ।

गौरीशङ्कर नगरपालिका–८ मा माथिल्लो भेगमा आएको हिउँपहिरोपछि रोल्वालिङ खोलामा आएको बाढीले आठ घर बगाएको छ । स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बाढीले बगाएको जनाइएको छ ।

गण्डकीमा अति भारी वर्षा 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार विगत २४ घण्टामा देशभरमध्ये गण्डकी क्षेत्रमा अधिक भारी वर्षा भएको छ । महाशाखाका अनुसार सो प्रदेशको पाल्पा कुमाल गाउँमा २०२ मिलिमिटर र आसपासका क्षेत्रमा ३०० मिलिमिटर वर्षा भएको हो । लुम्बिनीको दाङमा २७१ मिलिमिटर वर्षा भएको आइतबारदेखि लुम्बिनीदेखि सुदूरपश्चिम भेगमा अति भारी वर्षाको सम्भावना रहेकाले जोखिम उच्च रहेको मौसमविद् कँडेलले औँल्याउनुभयो ।

पचासभन्दा बढी सडक बन्द 

अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् । बाढी पहिरोले तहसनहस पारेको सडक अवरोध हटाउँदै सम्पर्क सञ्जाल खुलाउने पहल सुरु भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ । गोरखापत्र अनलाइनबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार