काठमाडौँ । भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक पुनः सुचारु भएको छ ।
करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजेतिर सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको डोल्पा–जाजरकोट सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा खसेको सुख्खा पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय करवगार्डबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आए पनि सडकखण्डमा पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रहसमेत गरेको छ ।

