३ जिल्ला सीडीओविहीन

३ जिल्ला सीडीओविहीन

सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँची जिल्ला तीन हप्तादेखि प्रमुख जिल्ला अधिकारी छैनन् ।

गत ३१ साउनमा मन्त्रिपरिषद बैठकले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो । १३ भदौको मन्त्रिपरिषद बैठकले खनाललाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासका लागि महावाणिज्यदूत नियुक्तिका लागि सिफारिस गरिसकेको छ ।

तर, अहिलेसम्म सिन्धुलीका लागि गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी तोकेको छैन । अहिले कृष्णमणि फुँयाल सिन्धुलीको निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिरहेका छन् ।

सिन्धुपाल्चोकका सीडीओ भूपेन्द्र थापाको बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको थियो । त्यहाँ जीतबहादुर भण्डारी निमित्त प्रमुख जिल्ला अधिकारी छन् ।

अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएर वैदेशिक रोजगार विभागमा हाजिर भएकै ३ हप्ता बढी भइसक्यो । अर्घाखाँचीमा अहिले मेघनाथ पाध्या निमित्त प्रमुख जिल्ला अधिकारी छन् ।

अहिले प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्याल एक महिनादेखि बिदामा छन् । त्यहाँ लक्ष्मीदेवी शर्माले निमित्त प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिररहेकी छिन् ।

प्रमुख जिल्ला अधिकारीहरु नहुँदा प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहमा समेत प्रभाव पर्ने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र नाबालक परिचय पत्र अनि दलित, जनजाति सिफारिस गर्ने, जिल्ला दररेट निर्धारणलगायतका काममा प्रमुख जिल्ला अधिकारीको प्रमुख भूमिका हुन्छ । सरकारले अधिग्रहण गर्ने जग्गाको मुआब्जा निर्धारण समितिका संयोजक पनि सीडीओ नै हुन्छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार