४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्र

४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्र

काठमाडौँ  । तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गरेको भन्दै ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती युट्युब च्यानललाई कानुनी कारबाहीका लागि प्रहरीलाई भनिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय भएको हो । काउन्सिलले ३ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरेको छ । ती माध्यममा सम्प्रेषण भएका समाचार पत्रकार आचारसंहिताविपरीत भएको भनी कारबाहीको सिफारिस गरेको हो । ‘२०८१ साउनयता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघ गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ,’ काउन्सिलले भनेको छ, ‘मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको छ ।’

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार