सानीभेरीमा २ करोड लागतमा स्वास्थ्य चौकी भवन निर्माण

सानीभेरीमा २ करोड लागतमा स्वास्थ्य चौकी भवन निर्माण

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा २ करोडभन्दा बढी लागतमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नम्बर ११ अर्मामा उक्त स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।

आज आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट र स्वीस सरकारका तर्फबाट अमन जोन्थेले संयुक्त रूपमा रिबन काटेर भवनको उद्घाटन गर्नुभयो। नवर्निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन भएसँगै आजबाटै सेवा प्रवाह सुरु भएको वडा अध्यक्ष भुपालसिंह ओलीले जानकारी दिनुभयो।

स्वीस सरकारको आर्थिक सहयोग, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशको संयोजन र सानीभेरी गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो। स्वीस सरकारको २ करोड १७ लाख रुपैयाँ लागतमा शौचालयसहित ६ कोठे सुविधा सम्पन्न भवन निर्माण गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो। उक्त भवन बर्थिङ सेन्टरको मापदण्डअनुसार निर्माण गरिएको उहाँको भनाइ छ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, स्वीस सरकारका प्रतिनिधि अमन जोन्थे, हेल्भेटास नेपालका प्रतिनिधि मनिष प्रधान, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार