काठमाडौँ । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन् । प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई हटाएसँथै अधिकारीलाई उक्त जिम्मेवारीमा ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ ।
नेपालको संविधानको धारा १०६ को उपधारा (१) अनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार सभामुख अर्यालले अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
संविधानमा संघीय संसद्को महासचिव प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नियुक्त हुने तथा प्रतिनिधिसभाको सचिव सभामुखको सिफारिसमा नियुक्त हुने व्यवस्था छ । राष्ट्रिय सभाको सचिव भने राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा नियुक्त हुने प्रावधान रहेको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ निवासी अधिकारी निजामती सेवाबाट उपसचिव पदमा सेवानिवृत्त भएका कर्मचारी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । साथै दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा पनि स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
निजामती सेवामा करिब २४ वर्षको अनुभव रहेका अधिकारीलाई संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका सर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार विशिष्ट श्रेणीको सचिव सरह सेवा सुविधा पाउने गरी सिफारिस गरिएको बताइएको छ ।

