क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै सानीभेरी गाउँपालिका

क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै सानीभेरी गाउँपालिका

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले क्यूआर कोडमार्फत गुनासो तथा सल्लाह सुझाव संकलन गर्ने प्रणाली सुरु गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयले सेवाग्राही तथा सरोकारवालाबाट प्रत्यक्ष प्रतिक्रिया लिन क्यूआर कोड सार्वजनिक गरेको हो। उक्त क्यूआर कोड स्क्यान गरी गाउँपालिकाले प्रवाह गर्ने सेवा, कर्मचारीको व्यवहार तथा जनप्रतिनिधिको गतिविधिसम्बन्धी गुनासा र सुझाव सहज रूपमा पठाउन सकिने व्यवस्था गरिएको छ।

गाउँपालिकाले सेवा प्रवाह तथा कर्मचारी र जनप्रतिनिधिसँग सम्बन्धित कुनै पनि गुनासो र सल्लाह सुझावका लागि नागरिकबाट अमूल्य अभिमतको अपेक्षा गरेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार नागरिकको सक्रिय सहभागितामार्फत सेवा सुधार, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने लक्ष्यसहित यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

प्राप्त गुनासा तथा सुझावलाई आवश्यकतानुसार सम्बोधन गर्दै सेवा प्रवाहमा सुधार गरिने गाउँपालिकाले जनाएको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार