असार १ काठमाडौ
रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका-८ साेतीमा गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएका ३४ जना आरोपीमध्ये २ जना नाबालक लाई जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधिश विद्याराज पौडेलको थुनछेक आदेश अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागी बाल सुधार गृहमा राख्ने भएको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ मा कुनैपनि बालबाललिकालाई मुद्धाको पुर्पक्षको शिलशिलामा थुनामा राखिने छैन र निजसंग धौरौटी वा जमानत मागिने छैन भन्ने व्यवस्था अनुसार यो आदेश गरिएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सहयोगमा बाल सुधार गृहमा राख्ने व्यवस्था मिलाउने रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बाेहराले बताए ।
रुकुम घटनामा संलग्न भएको आरोपामा पिडितको जाहेरी भित्रका २० जना र प्रहरी अनुसन्धानबाट थप खुलेको ९ जना गरी २९ जना तथा फरार ५ जना गरी जम्मा ३४ जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले आईतबार दायर गरेको अभियोग उपर रुकुम जिल्ला अदालतले सोमबारदेखी कारवाही प्रक्रिया अघि बढाएको छ ।
आरोपी ३३ जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ भने, बाकी एक जनालाई मतियारको अभियोग लगाईएको छ ।