काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
परिस्थितिको संवेदनशीलता हेरी आवश्यक परे जुनसुकै समयमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी पनि दिइएको छ।
रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।
महाशाखाले अनुसार शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने भनेको छ।
यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

