काठमाडौँ । अर्घाखाँचीमा बारीमा फल्दै गरेका मकै बाँदरले नोक्सान गर्न थालेपछि डिभिजन वन कार्यालयले २० जना बाँदर हेरालु नियुक्त गर्न विज्ञापन आव्हान गरेको छ ।
जिल्लाका ६ स्थानीय तहका ६१ वडा नै बाँदर प्रभावित क्षेत्र छन् । त्यसमध्ये अति प्रभावित २६ वटा क्षेत्रका गाउँमा मकै जोगाउन वन कार्यालयले हेरालु माग गरेको हो । यतिबेला मकैले घोगा लागिसकेका छन् । मकैबारीमा बाँदरको हूल पसेर नोक्सान गरिदिँदा किसान हैरानीमा परेका छन् ।
१८ वर्षदेखि ४५ वर्षका उमेर समूहका व्यक्तिले शुक्रबारसम्म दरखास्त दिन पाउनेछन् । साउन १० देखि असोज १० सम्म (दुई महिना) हेरालुले काम गर्नेछन् । त्यसवापत उनीहरुले मासिक १२ हजार ५ सय पारिश्रमिक पाउने सूचनामा उल्लेख छ । हेरालुलाई दिने पारिश्रमिक र अन्य खर्चका लागि शितगंगा नगरपालिका रहेका ८ वटा सामुदायिक वन उपभोक्ता समूहले लगानी गर्नेछन् ।
वन कार्यालयका अनुसार बाँदर हेरालुका लागि शितगंगा नगरपालिका–११ मा रहेका कालिदमार, दोहोटे, शंकरापुर, गैडे, घैवामैला, वडा १४ को बुद्ध, वाणगंगा र वडा १३ को धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोग रहेको छ ।
हेरालुलाई परिश्रमिकका लागि यी वन समूहबाट ८ लाख रुपैयाँ संकलन गरिने जनाइएको छ । वन उपभोक्ता समूहले सम्बर्द्धन प्राणलीमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत वनको संरक्षण गरेर काठ, दाउरा बिक्रीबाट आएको आम्दानी मध्येबाट बाँदर धपाउन वन कार्यालयलाई रकम उपलब्ध गराइने डोहोटे सामुदायिक वनका अध्यक्ष रेशमराज बञ्जाडेले बताए । किसानलाई मकै बाली जोगाउन राहत हुने देखेर समूहको रकम उपलब्ध गराइएको उनले बताए ।
गतवर्ष १० वटा सामुदायिक वनहरुले ६ लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए । अहिले कति रकम उपलब्ध गराउने भन्ने यकिन नभएको र कार्यालयबाट परिपत्र आएपछि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतबाट सो रकम दिइने बञ्जाडेले बताए ।
बाँदर धपाउनका अरु आवश्यक लागि सामग्री डिभिजन वन कार्यालयले व्यहोर्नेछ । कार्यालय खर्च कटौटी गरेर र अन्य स्रोतबाट त्यसको रकम व्यवस्थापन गर्न लागिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । अहिले ६१ वटाका अध्यक्षलाई गत वर्ष बाँदरले बाली नोक्सान गरेको क्षतिको विवरणसहित सबै तथ्यांक मागिएको उनले बताए । त्यसैका आधारमा अति प्रभावित क्षेत्र छनोट गरी वन हेरालु खटाइने उनले बताए ।