काठमाडौँ । सल्यानमा समूह बनाएर शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ।
सँगै शिकार खेल्न गएका आठ जना पक्राउ परेका छन्।
सल्यानका प्रमुख डिएसपी दीपक पातलीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा समूह बनाएर शिकार खेल्न गएकामध्ये कालिमाटी –२ बराहडुंगाका ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।
मगरको पेटको तल्लो भाग र ढाडमा गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
डिएसपी पातलीका अनुसार प्रहरीले घटनाबारे राति १० बजेपछि सूचना पाएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मनोजसिंह बोहरा नेतृत्वको पाँच जनाको टोली घटनास्थल पुगेको थियो।
शुक्रबार राति नै सँगै शिकार खेल्न गएकामध्ये कालिमाटी –३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेइतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालिमाटी–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई नियन्त्रणमा लिएको सल्यानका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ईश्वर राकायाले बताए।
प्रहरीका अनुसार अनुसन्धानबाट खुलेपछि थप दुई जनालाई शनिबार बेलुकीपख नियन्त्रणमा लिइएको छ। मगरको शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

