मसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का २१ वर्षीय नरबहादुर बुढाथोकीको उपचारका लागि संकलन गरिएको ५ लाख ५१ हजार ५७० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
विगत तीन वर्षदेखि ब्लड क्यान्सरबाट पीडित बुढाथोकीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले उनको जीवन बचाउन बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । त्यसका लागि भारतमा उपचार गर्न करिब ३५ देखि ४० लाखसम्म खर्च लाग्ने बताइएको छ ।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारमा समस्या भएपछि सहयोगका लागि स्थानीय समाजसेवी तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको संयुक्त पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो ।
अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूबाट सहयोग रकम संकलन गरिएको जनाइएको छ ।
अभियानबाट संकलन भएको ५ लाख ५१ हजार ५७० रुपैयाँ आज पाटन अस्पतालमै पुगेर नरबहादुरका बुवा लालवीर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेस रुकुम पश्चिमका महाधिवेशन प्रतिनिधि हरिचन्द्र शाहले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओली तथा सहयोग रकम संकलन अभियानका अभियन्ता तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओली, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बालकृष्ण शर्मालगायतको उपस्थिति रहेको थियो ।
अभियानमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकहरूप्रति अभियानका अभियन्ता जगदीश ओलीले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सहयोग रकमले नरबहादुरको थप उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नरबहादुरका बुवा लालवीर बुढाथोकीले छोराको उपचारका लागि आर्थिक तथा अन्य सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाता, शुभेच्छुक र अभियानमा सक्रिय अभियन्ताहरूप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनुभएको छ ।

