रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा रुकुम पश्चिममा पनि अधिवेशनको सरगर्मी बढेको छ ।
वडा, पालिका तथा प्रदेशसभा क्षेत्रीय प्रतिनिधि चयनका लागि हुने अधिवेशनको तयारीस्वरूप जिल्ला कार्यसमितिको बैठक आजदेखि सुरु भएको हो । जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति प्रेम प्रकाश ओलीको अध्यक्षतामा बसेको बैठकमा अधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन आवश्यक तयारीबारे छलफल गरिएको पार्टीका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो ।
बैठकमा अधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन, जिम्मेवारी बाँडफाँट तथा आवश्यक तयारी अघि बढाउने विषयमा छलफल भएको छ । जिम्मेवारी बाँडफाँटको टुंगो लगाउन बुधबार पुनः बैठक बस्ने प्रवक्ता ओलीले बताउनुभयो ।
बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका तथा क्षेत्रीय सभापति लगायत अगुवा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले अधिवेशनका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
जिल्ला कार्यसमितिको बैठकसँगै कांग्रेसभित्र वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्लामा नयाँ नेतृत्व चयनको विषयले समेत चर्चा पाउन थालेको छ ।
कांग्रेसको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कार्यक्रम छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने तयारी छ ।

