काठमाडौं । प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित ‘कर्णालीको पत्रकारिता’ पुस्तक मंगलबार सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले अनुसन्धानमूलक कृति अमूल्य सम्पत्ति भएकाले काउन्सिलले यस्ता कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
नेपाली पत्रकारिताको इतिहास अनुसन्धान र अभिलेखीकरण प्रदेश तहको कर्णालीबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै सीमित स्रोतका बाबजुद पनि कृति तयार भएकोमा खुसी प्रकट गरे ।
पुस्तकका लेखन कर्णालीवासी पत्रकारद्वय नवराज महतारा र प्रकाश अधिकारीले गरेका हुन्् । काउन्सिलको सभाहलमा आयोजित सार्वजनिक कार्यक्रममा लेखक महताराले विभिन्न कठिनाइ र सीमित स्रोतका बाबजुद पनि पुस्तक तयार पारिएको बताउँदै यसमा रहेका कमी, कमजोरीहरूलाई आगामी दिनमा परिष्कृत गर्दै लगिने बताए । पुस्तकका बारेमा काउन्सिलका पूर्वसदस्य मनऋषि धितालले समीक्षात्मक टिप्पणी राखेका थिए ।
कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरू मनऋषि धिताल, समीरजंग शाह, रुद्र खड्का, डा.मानबहादुर रोकाय, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसी, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, राजबहादुर शाही, हरिहर न्यौपानेलगायतले कर्णालीको पत्रकारिताको बारेमा आआफ्नो अनुभव तथा धारणा राखेका थिए ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्दै पुस्तक लेखन, सम्पादन र प्रकाशनका चरणमा भएको मेहनतको स्मरण गर्दै सम्बद्ध सबैप्रति आभार व्यक्त गरेका थिए । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तकका प्रकाशन सन्दर्भका बारेमा संक्षेपमा राखेका थिए । यो पुस्तक एक वर्षअघि छापिएको भए पनि सार्वजनिक भने मंगलबारमात्र गरिएको हो ।
सोही बेला काउन्सिलले ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ नामक अनुसन्धानमूलक कृति प्रकाशित गरी बजारमा ल्याइसकेको छ।

