रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटकी ३२ वर्षीया मन्दया कामीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
मैकोट स्वास्थ्य चौकीमा प्रसूति गराउने क्रममा उनले मृत शिशु जन्माएकी थिइन् । त्यसपछि सालनाल अड्किएर उनको अवस्था जटिल बनेपछि तत्काल सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने अवस्था आएको थियो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गरी मन्दयालाई कर्णाली प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत पठाइएको जनाइएको छ।
मन्दया पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट निवासी हिमाल कामीकी श्रीमती हुन् ।

