भोटेकोशी बाढीमा फसेका रुकुम पश्चिमका ९ जना सम्पर्कमा, १० अझै बेपत्ता

भोटेकोशी बाढीमा फसेका रुकुम पश्चिमका ९ जना सम्पर्कमा, १० अझै बेपत्ता

मुसिकोट । रसुवाको भोटेकोशी नदिमा आएको बाढीमा बाढीमा परी सम्पर्कविहिन भएका मध्य रुकुम पश्चिमका दश जना आफन्तको सम्पर्कमा आईपुगेका छन् । नौ जनाको अवस्था भने अझै बेपत्ता रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म दश जना आफन्तको सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले सम्पर्कविहिन भएकाहरुको खोजी कार्यका लागि आफन्तजन र प्रहरीले विभिन्न निकायसँग समन्वय गरिरहेको बताउनुभयो ।

सम्पर्कमा आएका दश जनालाई रसुवा भन्सार कार्यालय र नुवाकोटबाट उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमा मुसिकोट नगरपालिका १ का अब्दुल केसी, सानीभेरी गाउँपालिका २ का नन्दलाल घर्ती, चौरजहारी नगरपालिका १३ का रामबहादुर बिष्ट, आठबिसकोट नगरपालिका ९ का वीरेन्द्र केसी, सोही नगरपालिका ९ का करवीर गैरे, वडा नम्वर १० का तुलसा केसी, उहाँको एक छोरा र छोरी, सोही वडा निवासी दिया केसी र वडा नम्वर ८ निवासी चन्द्रबहादुर घर्ती रहनुभएको छ ।

सम्पर्कमा आउनुभएका वीरेन्द्र केसीले भने केहि महिना अगाडी ताप्लेजुङमा सरुवा भएर गएको भनि जानकारी गराउनु भएको छ भने नन्दलाल घर्तीको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । अन्यले आफन्तहरुलाई सम्पर्क गरेर सकुशल रहेको जानकारी गराउनुभएको छ ।

प्रहरीका अनुसार अझै नौ जना सम्पर्कविहिन भएको सूचना प्राप्त भएको छ । सम्पर्कविहिन हुनेहरुमा रसुवा भन्सार कार्यालयमा नायब सुब्बा पदमा कार्यरत मुसिकोट नगरपालिका २ का हरिबहादुर खड्का, रसुवा भन्सारमा मजदुरी गर्ने सानीभेरी गाउँपालिका ७ घरभई हाल बर्दिया बस्नु हुने लक्ष्मी बुढाथोकी र चन्द्र बुढाथोकी, सोही वडा घर भई हाल रसुवाको गोसाईकुण्ड २ टिमुरे बस्नु हुने शिवलाल बुढाथोकी र दिलकुमार घर्ती र चौरजहारी नगरपालिका १ निवासी सिमा बुढाथोकी हुुनुहुन्छ ।

त्यसैगरी आठबिकोट नगरपालिका ७ घर भई गोसाईकुण्ड गाउँपालिकामा कार्यरत खम्बु बोहरा, सोही पालिकामा कार्यरत उहाँको श्रीमती कोपिला केसी बोहरा र उहाँको एक वर्षीया छोरी पनि हालसम्म सम्पर्कविहिन हुनुहुन्छ । उहाँहरुको खोजी कार्यको लागि विभिन्न निकायहरुसँग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार