मुसिकोट । रुकुम पश्चिमका व्यवसायी एवम् समाजसेवी मोहवीर खड्काले भोटेकोशी बाढी पीडितको लागि एक लाख रकम सहयोग गर्नुभएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका १४ घर भई हाल खलंगामा व्यवसाय गर्दै आउनु भएका नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहेका सफल व्यवसायी खड्काले बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रकम जम्मा गर्नुभएको हो ।
उहाँले विपद्को यो घडीमा एकजुट बन्न आह्वान गर्नुहुँदै सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउने बताउनु भएको छ ।
विपद्को बेला हातेमालो गर्न र दुःखमा परेकाहरूलाई साथ दिन आफूले सक्दो सहयोग गरेको उहाँले बताउनु भयो ।थोपा थोपा मिलेर सागर बन्ने भएकोले आशा ट्रेडर्सको तर्फबाट सहयोग गरेको खड्काले बताउनुभयो ।
साथै उहाँले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

