मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ नम्बर वडा कार्यालयले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
वडा समितिको बिहीबार बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।
भोटेकोसीमा आएको बाढीबाट रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष खड्काका अनुसार चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा विनियोजन गरिएका तिज विशेष कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमकाे लागि छुट्याइएको ५० हजार रुपैयाँ बाढीपीडितको राहतका लागि कोषमा जम्मा गर्न लागिएको हो ।
वडाले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको भन्दै रकम नियमानुसार कोषमा जम्मा गरिदिन मुसिकोट नगरपालिकालाई अनुरोध गरेको छ ।

