दार्चुलामा पहिरो : चमेलिया नदी आंशिक थुनियो

दार्चुलामा पहिरो : चमेलिया नदी आंशिक थुनियो

काठमाडौँ । दार्चुलामा पहिरोका कारण चमेलिया नदी आंशिक थुनिएको छ।

शुक्रबार दिउँसो अपिहिमाल गाउँपालिका-१ भट्टारमा पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।

‘ठूलै पहिरो खसेको हो। नदी पूरै थुनिएको अवस्था होइन। अहिले केही भाग निकास भएको पनि छ,’ उनले भने।

चमेलियालाई स्थानीयले चौलानी नदी भन्छन्।

प्रजिअ पौडेलले ठूलो जोखिम नभए पनि सतर्क हुनुपर्ने बताए। सोही अनुसार तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई जानकारी गराइएको उनले बताए।

‘सानो सानो पहिरो खसिरहेको पनि छ। पानी सिमसिम परिरहेकाले जोखिम पनि छ,’ उनले भने।

पहिरो गएको ठाउँ भन्दा तलतिर अपि हिमालसहित, मार्मा र शैल्य शिखर नगरपालिका र लेकम गाउँपालिका पर्छ। ती सबैलाई सतर्क गराइएको प्रजिअ पौडेलले बताए।

प्रमुख जिल्ला अधिकारीले  सूचना नै जारी गरी पहिरोले नदी पूरै थुनिन सक्ने सम्भावना पनि भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार