मुसिकोट । रुकुम पश्चिममा घरभित्र राखिएको पाँच लाख १५ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ का स्थायी बासिन्दा १८ वर्षीय गणेश कुमार राम रहेका छन् । उनी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० मा डेरा गरी बस्दै आएका थिए ।
गत कात्तिक ४ गते त्रिवेणी गाउँपालिका–१० स्थित घमण्ड बहादुर बुढाको घरको कोठाभित्र राखिएको पाँच लाख १५ हजार रुपैयाँ नगद र आठ आनाको सुनको तिलहरी चोरी भएको थियो। घटनाको जानकारी पाएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनापछि राम फरार रहेका थिए ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्सासँगको समन्वयमा प्रहरीले आरोपित रामलाई कात्तिक ६ गते वीरगञ्ज महानगरपालिकाको लिङ्क रोडस्थित खानतलासीका क्रममा फेला पारेको हो ।
प्रहरीले उनको साथबाट चोरी भएको रकममध्ये दुई लाख ६ हजार रुपैयाँ नगद, एक थान कीप्याड मोबाइल र एक थान सिमकार्ड बरामद गरेको जनाएको छ। पक्राउ परेका रामलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याइएको छ।

