मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ का तप्तबहादुर बटाला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
२०५७ सालदेखि माओवादी आन्दोलनमा आबद्ध रहँदै आउनुभएका बटाला हाल नेपाली कम्युनिस्ट पार्टी (माओवादी) को टोल कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।
नेपाली कांग्रेस आठबिसकोट नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला सभापति प्रेमप्रकाश ओलीलगायतका नेताहरूले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको जिल्ला प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो ।
पार्टी प्रवेशपछि बटालाले आफूले राजनीतिक गतिविधि र पार्टीलाई राम्रोसँग पहिचान गर्न नसक्दा बीच बाटोमा बाटो बिराएको बताउनुभयो । लोकतान्त्रिक पद्धतिबाट अघि बढेको नेपाली कांग्रेसप्रति आफ्नो इच्छा र आकांक्षा जोडिएकाले स्वेच्छाले पार्टी प्रवेश गरेको उहाँको भनाइ छ ।
त्यसैगरी जिल्ला सभापति प्रेमप्रकाश ओलीले बटालालाई पार्टीमा स्वागत गर्दै उहाँको प्रवेशले पार्टी संगठनमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला सभापति प्रेमप्रकाश ओली, जिल्ला सचिव तारकबहादुर शाही, महाधिवेशन प्रतिनिधि एवं मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, महाधिवेशन प्रतिनिधि एव जिल्ला प्रवक्ता लालबहादुर ओली, महाधिवेशन प्रतिनिधिहरू कमल कुमार शाह र प्रेमबहादुर ओली, प्रदेशसभा क्षेत्र ‘क’ का सभापति अमृत कुमार बोहरा, जिल्ला सदस्य तेजेन्द्र बटाला, आठबिसकोट नगर सभापति लालबहादुर भण्डारी, कमल रिजाल लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

