प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको प्रेस काउन्सिलद्वारा भर्त्सना

प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको प्रेस काउन्सिलद्वारा भर्त्सना

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चार माध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।

शुक्रबार कार्यालय समय सकिएपछि समाचार कक्षमै प्रवेश गरी प्रहरीले गरेको यस्तो कार्यप्रति काउन्सिलले गम्भीर आपत्ति प्रकट गरेको छ। पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाएको, अदालतको अनुमति लिएको नदेखिएको र अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा यस्तो कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको र प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको ठहर गरेको छ ।

प्रकाशित समाचार सामग्रीप्रति विमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको कुरा विज्ञप्ति मार्फत स्मरण गराइएको छ । समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ।

प्रेस काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानूनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार