काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै दुई घण्टाभन्दा बढी समय त्यहाँ बसेका थिए ।

