काठमाडौँ । डोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन्।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान स्थानीय गाइडको छ ।
स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदा समेत पर्यटकहरू जबर्जस्ती उक्त क्षेत्रतर्फ गएको र फर्किने क्रममा हिउँमा फसेको हुन सक्न उनीहरूको बुझाइ छ ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् । स्थानीयवासीले हिमाल पार गर्न समस्या हुने जानकारी गराउँदा-गराउँदै पनि उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उनले बताइन्।
शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बीचमा रहेका उक्त पासहरूमा फोन सम्पर्कसमेत नहुने समस्या छ। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए।

