मुसिकोट । भूकम्पले रुकुमपश्चिममा क्षति भएका निजि आवास पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकाशा गरिएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित ७०१ जना लाभग्राहीका लागि रकम निकासा भएको हो।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ७६६ जनाको लागि पहिलो किस्ताको रकम माग गरिएकोमा ७०१ जनाको मात्र रकम आएकोले सम्बन्धित पालिकामा निकाशा पठाईसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन २६ गते सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका ७६६ जना लाभग्राहीको आवास निर्माणको लागि पहिलो किस्ता माग गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणबाट भने ७०१ जनाको लागि ५० हजारको दरले तीन करोड ५० लाख ५० हजार रकम आएको थियो । उक्त रकम सम्बन्धित पालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको खातामा निकाशा पठाईसकिएको प्रजिअ गौतमले जनाउनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित निजि आवास पुनर्निर्माण कार्यविधि, २०८० (संशोधनसहित) बमोजिम सम्झौता गरी आवश्यक कागजात तथा प्रक्रिया पुरा गरेका लाभग्राहीहरुको लागि आवास निर्माणको अनुदान माग गरिएको थियो ।

