नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै वास्तविक अयोध्या भारतीय सीमानजिकै रहेको नेपाली भूभाग ठोरीमा रहेको घोषणा गरे । उनले नेपालमाथि भारतले सांस्कृतिक अतिक्रमण गरेको पनि उल्लेख गरेका छन् ।
प्राचीन समयमा भारतमा रहेको अयोध्याबाट नेपालको जनकपुरसम्मको दुरी निकै टाढा रहेको र वर्णन गरिएअनुसारको उक्त दुई स्थानको यात्रा गर्नु तर्कसंगत नरहेको ओलीको भनाइ थियो । केही मिडिया रिपोर्टमा नेपालको पुरातत्व विभागले अब छिट्टै नै ठोरीमा उत्खननको काम सुरु गर्न सक्ने उल्लेख गरिएको छ ।
यस किसिमको आक्रोशपूर्ण नक्सा समर्थन गर्न सकिने किसिमको छैन । यसले नेपालबाट आउने औपचारिक पत्रलाई भारतले स्वीकार गर्ने सम्बन्धमा पनि समस्या उत्पन्न भएको छ, किनकी अब यस्तो पत्रमा नेपालको नयाँ नक्सासहितको निशान छाप हुनेछ । नेपालको प्रभावशाली राजनीतिक वर्गसँग संवाद बढाउने क्रममा रहेका जिम्मेवार व्यक्तिहरु पक्कै पनि रोकिएको हुनुपर्छ । अझ महत्वपूर्ण कुरा, यसले जनता–जनताबीचको सम्वन्धलाई थप घनिभूत र बलियो बनाउनेपर्ने माग गरेको छ । अर्कोतर्फ अयोध्याका विषयमा ओलीले राखेको अडानलाई भारतले औपचारिकरुपमा प्रतिक्रिया जनाएर महत्व दिनुहुँदैन ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतले के गर्छ वा गर्दैन भन्ने कुरालाई अलग राख्दा ओलीको रणनीतिमाथि विमर्श आवश्यक छ,– के उनी नेपालको आफ्नै हितका लागि काम गरिरहेका छन् ? उनको कदमले एकजना एक्लिएको, थकित र सत्तामा रहिरहने लालसाबाट ग्रस्त नेतालाई प्रतिबिम्बत गर्छ । सन् २०१७ मा भएको निर्वाचनमा बहुमत हासिल गरेर नेकपाको नेतृत्व गरेसँगै उनले विभिन्न दवाबको सामना गर्दै आएका छन् । आफ्नै पार्टीभित्र उनले शक्ति साझेदारीको सम्झौता पालना गर्नुपर्ने आवाज उठेको छ । साथै पार्टीभन्दा बाहिर पनि उनले कोरोना भाइरस महामारी नियन्त्रणको लागि आवश्यक कदम चाल्न नसकेकोमा सार्वजनिक आलोचनाको सामना गर्दै आएका छन् ।
आफ्नो कुर्सी बचाउन ओलीले उग्रराष्ट्रवादी नीति अवलम्बन गरेका छन् । जसका लागि उनले अहिले राम नेपालको हो भनेर देखाउन खोजिरहेका छन् । (बुद्धपछि, जसलाई नेपालीले नेपालमा जन्मेको हो भनेर लगातार तपाईंलाई सम्झाउँदै आएका छन् ।)
उनी चीनबाट प्रेरित भएका हुन सक्छन् । चिनियाँ राजदूतको काठमाडौंको राजनीतिक वृत्तमा पछिल्लो समय दौडधूप पनि देखिँदै आएको छ । यद्यपि ओलीको कदम प्रभावहीन छ र यो कदम नेपालको लागि निकै जोखिमपूर्ण साबित हुन सक्छ ।
नेपाली नेताहरुको लागि भारतविरोधी नारा घन्काउनु एक महत्वपूर्ण रणनीति रहँदै आएको छ । नेपालमा हिन्दूको जनसंख्याको हिस्सा भारतमा भन्दा बढी भए पनि नेपाललाई हिन्दूको मूल भएको देखाउन विगतमा भएका प्रयास असफल देखिँदै आएका छन् । सन् २००९ मा ओलीका प्रतिस्पर्धी, त्यतिबेलाका माओवादी क्रान्तिका नेता प्रचण्डले पनि पशुपति मन्दिरको पुजारीमा भारतीयको सट्टामा नेपाली पुजारी राख्ने प्रयास गरेका थिए ।
अयोध्याको विषयमा नेपालको राजनीतिक परिवृत्तमा रहेका आफ्नै पार्टीका नेताहरुले पनि ओलीको बनावटी अभिव्यक्तिको आलोचना गरिरहेका छन् र मानिसहरुले आन्दोलन पनि गरिरहेका छन् । विदेश मन्त्रालय यस विषयमा विज्ञप्ति निकाल्न बाध्य भयो र ओलीको अभिव्यक्तिको अर्थ अयोध्याको गरिमा र यसको सांस्कृतिक महत्वको अवमूल्यन गर्नु नरहेको बतायो ।
मूर्तिपुजा गर्ने धार्मिक राष्ट्रवादको यो रणनीति प्रभावहीन मात्र नभई नेपालका लागि निकै खतरानक पनि छ । नेपालको जीडीपीको करिब ३० प्रतिशत रेमिट्यान्सबाट आउने गर्छ । साथै यो मुलुक आफ्ना विदेशमा काम गर्न गएका कामदारहरुमा सबैभन्दा धेरै आश्रित मुलुक हो । कोभिड–१९ ले यसरी आउने रेमिट्यान्समा उल्लेख्य मात्रामा कमी आउन सक्छ र ठूलो संख्यामा मानिसहरु नेपाल फर्किनेछन् । यो अवस्थामा भारतले नेपालीलाई खुला पहुँच दिँदै आएको छ । जसमा उनीहरुलाई भारतमा आएर काम गर्ने अधिकार पनि रहेको छ । यो नेपालको लागि केही मात्रामा आर्थिक राहत हुन सक्छ । त्यसैले यो समय नेपालका लागि भारतसँग कूटनीतिक तडक–भडक देखाउने र मानिस–मानिसबीचको सम्बन्ध भड्काउने समय होइन ।
प्रधानमन्त्री ओलीले अहिले चालेका कदमले भारतीयहरुलाई भड्काउन पनि सहयोग पु¥याउने छ । नेपालमा भारतविरोधी राष्ट्रवादी मिडिया हावी रहँदै आएका छन् । तर, भारतमा भने नेपाललाई पहिल्यैदेखि मित्रराष्ट्रका रुपमा हेरिँदै आएको थियो । तर, यस किसिमको परिवर्तनले गर्दा भारतीय टेलिभिजन कार्यक्रम प्रस्तोताहरु ‘नेपालः दोस्त या दुश्मन’ भन्नेजस्ता शीर्षक राखेर दर्शकहरु तान्न थालेका छन् ।
नेपालका राजनीतिक नेताहरुले नेपालको सबैभन्दा शक्तिशाली मित्रराष्ट्रसँग उत्पन्न हुन सक्ने ठूलो राजनीतिक संकटको मनन गर्नु जरुरी देखिएको छ ।
(पुरी नेपालका लागि पूर्व भारतीय राजदूत हुन् ।) स्रोत : इन्डिया टुडे