बाह्रौ नगर सभा, उठेका टिप्पणी र ठुलीदहको महत्व

बाह्रौ नगर सभा, उठेका टिप्पणी र ठुलीदहको महत्व

सर्वप्रथम मुसिकोट नगरपालिकाको बाह्रौँ नभरसभामा सहभागी मुसिकोट नगरपालिकाका आदरणीय जनप्रतिनिधिज्युहरु, मुसिकोट नगरपालिका, वडा कार्यालय लगायत मुसिकोट नगरपालिका अन्तर्गत कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरु, नगरप्रहरी, मुसिकोट नगरपालिका वडा नम्वर सात र आदरणीय वडाबासीहरु, संचारकर्मी मित्रहरु, सुरक्षाकर्मी, स्वयमसेवक, कार्यक्रम व्यवस्थापन कार्यमा खटिनुभएका सबै साथीहरु लगायत सबै महानुभावहरुलाई व्यक्तिगत तर्फबाट हार्दिक आभार तथा धन्यवाद ।

मुसिकोट नगर, खुशी नागरिक समृद्ध शहरको मुल नारा सहित बाह्रौं नगर सभा मुसिकोट नगरपालिकाको रमणीय, पर्यटकीय र सुन्दर ठाउँ ठुलीदहमा प्रारम्भ भएको छ । नगर सभाको स्थान छनौटको विषयलाई लिएर विभिन्न टिप्पणीहरु आइरहेका छन् । यसलाई हामीले स्वभाविक रुपमा ग्रहण गरेका छौँ । रचनात्मक सुझावहरुलाई आगामी दिनमा अवलम्वन गर्दै जानेछौँ ।

मुसिकोट सरकारले सही ठानेर नै यो निर्णय गरेको हो । हाम्रो तर्फबाट भन्दा यसले दुरगामी सन्देश बोकेको छ । ठुलीदह मुसिकोट नगरपालिकाको पर्यटकीय, मनोरम, आकर्षक स्थान त हुंदै हो । साथसाथै यो साँखखोला, पानाखोला, जामाखोला लगायत थु्प्रै खोलानाला, मुहानहरुको मुख्य उद्गम स्रोत पनि ठुली दह हो । ठुलीदहको प्रमुख स्रोतबाट उत्पन्न पानाखोला, साँखखोला, जामाखोलाबाट थुप्रै उत्पादनशील भुमी सिंचाइ हुनुका साथै थुप्रै मुहानहरुको कारण खानेपानीको स्रोतको काम पनि ठुली दहले गरिरहेको छ ।

त्यस्तै पानाखोला र सांखखोलाबाट घट्टेखोला, झुल्खेत, सोलाबाङ्ग, भन्डारीकांडाजस्ता लघु जलविधुत उत्पादन भई ग्रामीण वस्तीहरुमा उंज्यालो बनाउने काम पनि गरिरहेको छ । त्यस्तै ठुली दहको मुख्य स्रोतबाट उत्पन्न जामाखोलाबाट रुकुम पुर्व थुप्रै खेतीयोग्य जमिनहरुलाई सिंचित गरिरहेको छ । सांखखोला तथा पानाखोलाबाट चन्द्रेबाङ्ग सिंचाइ आयोजना, हिउंरीखोला ट्याखोला झिंजा सिंचाइ, नाप्चाखोला सिंचाइ, झुल्खेत, दलाखेत, थर्पु. सेरीगाउं, घुइलपानी, ठाराढुङ्गा, थापाचौर, तरकारीविउ उत्पादन केन्द्र चांपा, सोलाबाङ्ग, छेरा, माछिमी जस्ता उत्पादनशील जग्गाहरुमा सिंचाइ सुविधा सांखखोला पानाखोलाबाट उत्पन्न पानीबाट नै भइरहेको छ । यसको मुख्य उद्गम स्रोत ठुली दह नै हो ।

त्यसका साथै वडा नम्वर ६, ७, ५, ४, १, ३ का अधिकांश भागहरुमा पानाखोला आधारित मुहानहरुबाट नै खानेपानीको प्रवन्ध भएको छ । जिल्ला सदरमुकाम खलंगा, सेरीगाउं, सोलाबाङ्ग, शितलपोखरी जस्ता अधिक जनघनत्वका बजार क्षेत्रका खानेपानीका मुख्य स्रोत पनि पानाखोला आश्रित मुहानहरु नै हुन् । पानाखोला र साँखखोला मुसिकोट नगरपालिकाको जनजीवन, सिंचाइ, खानेपानी, जलविधुत, प्राकृतिक सन्तुलन, इको सिस्टमको लागि अति महत्वपुर्ण माध्यम हुन् र यिनको प्रमुख स्रोत ठुली दह नै हो ।

त्यसकारण मुसिकोट नगरपालिकाको लागि ठुली दहको महत्व प्राचिन मानवसभ्यताको शुरुवातदेखि नै रहेको छ । पानीको आसपास भएका मानव वस्ती वसाइको लागि भविष्यमा खानेपानीको सहज आपुर्तिको लागि ठुली दहको महत्व आधुनिक समयमा झन बढेर गएको छ । उल्लेखित भुभागहरुमा सिंचाइ, खानेपानी सहज आपुर्तिको लागि ठुली दह संरक्षण गर्नुको विकल्प छैन ।

वर्तमान अवस्थामा विश्वको सबैभन्दा ठुलो समस्याको रुप लिइरहेको जलवायु परिवर्तनका मुद्दाहरुलाई मध्यनजर गरेर सरकारका काम तथा नीतिहरु परिलक्षित गर्ने सन्दर्भमा पनि ठुलीदहमा नगर सभाको लागि स्थान छनौट गरिएको हो । आव २०७९।०८० मा ठुली जलाधार तथा ताल संरक्षणको लागि मुसिकोट नगरपालिका र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रोको साझेदारीमा कार्यक्रम संचालन भइरहेको छ ।

यस योजनाबाट मध्यपहाडी हाइवे बैरीदहबाट ठुलीदहसम्म पदमार्गको लागि प्राकृतिक ढुङ्गाका पलेंटा बिच्छ्याएर पैदल मार्ग बनाइदैछ भने आवश्यक स्थानमा कल्भर्ट, उकालोमा विश्राम स्थल चौतारी र चौतारीमा स्वचछ खानेपानीको व्यवस्था, ठुलीदहमा बांध निर्माण गरी बाह्रै महिना पानी संकलन र खोलानाला मुहानहरुमा पानीको स्रोत प्रवाह रिचार्ज हुनेगरी निर्माण कार्य भइरहेको छ । यस योजनाको दिर्घकालीन उद्धेश्य ठुली दहको प्राकृतिक महत्वलाई संरक्षण गरी यसबाट सिर्जित हुने खोलानाला, खानेपानीका मुहानहरुको संरक्षण गर्नु नै हो ।

सांखखोला र पानाखोलाको पानीको स्रोतको कारण नै मुसिकोट नगरपालिकामा आदिमकालमा धेरै बस्तीहरु विस्तार भएको ऐतिहासिकता स्वत: प्रमाणित छ । आदिमकालमा वस्तीहरु बस्दा पानी पाइने स्थानको आसपासबाट नै भएका थिए । विस्तार पनि पानी आसपासका क्षेत्रमै भएका थिए । खेतीपाती अन्न, अनाज खाएर जिवनयापन गर्नुपर्ने अवस्थामा सिंचाइ र खानेपानीको स्रोत वरिपरी नै वस्तीहरुको विकास र विस्तार भएका हुन् ।

आदिमकालका मानवसभ्यताहरु सबै नदी किनाराबाट नै प्रार्दुभाव भएका थिए । पृथ्वीमा जीवको उत्पत्ती नै पानीको कारण भएको थियो । यदि पृथ्वीमा जीवको विलोप कुनै कारणले हुन्छ भने त्यसको मुख्य कारण जलवायु नै हुनेछ । जलवायु शव्द जल (पानी) र वायु (हावा) मिलेर बनेको छ । त्यसकारण पानीको स्रोतको मुख्य उद्गम स्थल ठुली दहमा कार्यक्रम गर्नुको ऐतिहासिक र प्राकृतिक महत्व रहेको छ । ठुली दहलाई थप संरक्षण गरी सिमसार क्षेत्रको रुपमा समेत घोषणा गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ठुलीदहमा कार्यक्रम गर्नुका थुप्रै कारणहरु छन् । त्यसमा सविस्तार व्याख्या क्रमश गर्दै गरौँला । यसमा थप खोजी र अध्ययनको आवश्यकता भएर नै ठुली दहमा नगरसभा मार्फत सन्देश दिन खोजिएको हो । तत्काल बाहिरी चर्मचक्षुले ठुलीदहको महत्व नदेखिए पनि मुसिकोट नगरपालिकाका अधिकांश भुभागका साथसाथै सदरमुकाम खलंगामा सदियौँ बर्षसम्म पानीको आपुर्ती सहज बनाई जिवात्मा संरक्षणको लागि ठुली दह संरक्षण गर्नुको विकल्प छैन । साथै प्राकृतिक रुपले सुन्दर र रमणीय ठाउंमा पुग्दा मान्छेका मनभित्रका कैयन दुखपिडाहरु हराएर जान्छन् ।

पृथ्वीका सम्पुर्ण प्राणीहरु प्रकृतिबाट नै जन्मिएका हुन् । प्रकृतिमा नै विलय हुनेहुन । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्थानमा पुग्दा मानव मनभित्र प्रकट हुन खोज्ने गुम्सिएका दरारहरु पनि स्वत: निस्क्रिय भएर जान्छन । प्राकृतिक वातावरण, स्वच्छ हावा र सिरिसिरी वतासको वीचमा मान्छेको मन छुट्टै आनन्दित र प्रफुल्लित रहनेगर्छ ।

खर्चिलो र अनावश्यक झन्झटको सन्दर्भमा कुरा गर्दा जुन खर्चले सेरीगाउंमा नगर सभा हुन्थ्यो त्यही खर्चले नै ठुली दहमा प्रारम्भ भएको हो । स्थान छनौट संधै ठुली दह भन्ने पनि होइन । प्रारम्भ मात्र ठुलीदहमा हो । समापन तथा बजेट कार्यक्रम छलफल, अनुमोदन गर्ने नगर सभा हलमै हो । प्रारम्भ र पेश मात्र ठुली दहमा भएको हो । नाचगानको सन्दर्भमा भन्दा नगरसभाको औपचारिक कार्यक्रममा नाचगान भएको होइन ।

नगरसभामा नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन, बजेट वक्तव्य मात्र प्रस्तुत गर्ने कार्यसुची रहेको हुंदा यसमा दुइघन्टा जति मात्र समय लागेको हो । उक्त दुइघन्टाको औपचारिक कार्यक्रम स्थगित भए पछि फोटा खिच्ने काम भएको हो । फोटा खिचेपछि स्थानीयवासीहरुसंग नाचगानको कार्यक्रम भएको हो । त्यति धेरै सुन्दर र रमणीय ठाउंमा पुगिससकेपछि फोटा नखिचेर, एकफन्को ननाचेर कुन मनुवा फर्किएलार ? नगरसभा सदस्य तथा कर्मचारीहरु पनि प्राकृतिक मानव प्राणी नै भएको कारण केही क्षण फोटो शेसन र नाचगान भएको सही सांचो हो । यो स्वाभाविक, प्राकृतिक, सामाजिक, सांस्कृतिक परिघटना हो ।

चाडपर्व, विभिन्न सभा, समारोह, उत्सव, पर्व, कार्यक्रम समापन पश्चाच नाचगान गरी शारीरिक र मानसिक स्फुर्ती जगाउने कार्य हाम्रो सांस्कृतिक पहिचान नै हो । कुनै पनि कार्यक्रम पश्चात एकक्षण रमाइलो वातावरणमा मग्न भएर अन्तरमनमा गुम्सिएका कतिपय विकारजन्य ग्यास उतसर्जन गर्ने माध्यम पनि नाचगान भएको छ । यसले शारीरिक, मानसिक उमंग मात्र उत्पादन गर्दैन यसले मान्छेहरुका विभाजनका रेखाहरुलाई, भावनात्मक तिक्तताहरुलाई घटाउंदै सुमधुर, अनौपचारिक, मैत्रीपुर्ण र भावनात्मक सम्बन्ध विकास गर्न टेवा पुर्याउंछ ।

त्यसकारण नरसभाको औपचारिक कार्यक्रम पश्चात छोटो समय गरिएको संक्षिप्त मनोरन्जनलाई स्वभाविक परिघटनाको रुपमा लिनुपर्दछ । यसबाट कोही चिन्तित, दुखित र धेरै तरंगित हुनुपर्ने जरुरत छैन । सबै मानवमन उक्त स्थानमा पुगेपछि एक दुइ थान फोटा खिचेरै आउनु पर्ने अवस्था हुन्छ ।

व्यवस्थापकीय रुपमा असारको १० गते मनसुन शुरु भइसकेको अवस्थामा कार्यक्रम गर्दा केही समस्या त हुने नै भए । पानी पर्ने पुर्व अनुमान नै थियो । असारमा पानी पर्छ भन्ने पुर्व जानकारी पनि नहुने कुरा भएन । तर पनि त्यसबाट पर्न गएको असुविधाप्रति जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीप्रति क्षमा चाहन्छौ । औपचारिक कार्यक्रम र नाचगान पश्चात फर्किने समयमा मात्र पानी परेको हुंदा प्रकृतिले पनि नगरसभाको औपचारिक कार्यक्रम र छोटो मनोरन्जनको क्षणलाई समर्थन नै गरेको पाइयो । कार्यक्रम सम्पन्न पश्चात मात्र पानी परेको हो ।

रेडिमेट सिमेन्टड कंक्रिटयुक्त मानवनिर्मित कृत्रिम भवनका शोफासेटमा बसेर कार्यक्रम गर्नु र प्राकृतिक रुपले प्रकृति निर्मित खुला चौरमा कार्यक्रम गर्नुको विचमा केही सबल केही दुर्बल पक्ष हुने नै भए । विशेषत नगर सभाको अवसरमा ठुलो संख्यामा स्थानीय जनसमुदायहरु जम्मा हुनुभएको अवस्थामा सबै महानुभावहरुलाई नगरपालिकाले नास्ता, खाजा तथा खानाको व्यवस्थापन गर्न सकेन । डेड दुइसयको आसपासमा सहभागी आंकलन गरी तयार गरिएको नास्ता खाजा सहभागी धेरै भएकोले सबैलाई खाजा उपलब्ध गराउन असम्भव भयो ।

बजार पनि धेरै टाढा भएकोले तत्काल सप्लाई गर्न पनि सकिएन । जति पाकेको थियो, जति पकाइएको थियो । त्यति नै उपलब्ध गराउन सकियो । सामग्री ढुवानीमा समस्या भएको कारण उक्त दिन उक्त स्थानमा विभिन्न प्रकारले उपस्थित हुनुभएका सबै महानुभावहरु, मुसिकोट नगरपालिका वडा नम्वर सात वासीहरुलाई खाजा, नास्ताको व्यवस्था गर्न नसकिएकोमा क्षमा चाहन्छौं ।

व्यवस्थापनको क्रममा भएका केही कमजोरीलाई आगामी दिनमा दोहोरिन दिने छैनौ । फरक तरिकाले गर्दा भएका टिप्पणी र आलोचनालाई सहस्र सम्मानभाव प्रकट गर्दै आगामी दिनमा ति टिप्पणीहरुलाई पनि सुधारको सुत्रधार माध्यमको रुपमा ग्रहण गर्नेछौ ।

र अन्तमा माथि उल्लेखित विचार व्यक्तिगत हुन् । यिनले संस्थागत प्रतिनिधित्व गर्दैनन । ठुलीदहको ऐतिहासिकताको बारेमा थप जानकारी सहित पुन: सविस्तार चर्चा गर्ने वाचा सहित बिदा चाहन्छु । ठुली दहमा आयोजना गरी बाह्रौ नगर सभा मार्फत प्रस्तुत गरेका आव ०८०/८१ का बार्षिक नीति, कार्यक्रम तथा बजेटको बारेमा असारको अन्तिमतिर अनुमोदन पश्चात अर्को आलेखमा सविस्तार चर्चा गरिनेछ । पेश भएका नीति, कार्यक्रम तथा बजेट मुसिकोट नगरपालिकाको आधिकारिक वेभसाइड मार्फत सार्वजनिक भइसकेका छन् । धन्यवाद ।

– (लेखक खड्का, मुसिकोट नगरपालिका रुकुम पश्चिमका निमित्त प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ ।)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार