सरकारविरूद्ध सडकमा उत्रन कांग्रेसद्वारा कार्यकर्तालाई आह्वान

सरकारविरूद्ध सडकमा उत्रन कांग्रेसद्वारा कार्यकर्तालाई आह्वान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए । उनले भने,‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए । उनले भने,‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारी तर्फ गम्भिर छैन ।
नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रीत भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शन गर्दैगर्दाखेरी आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार