माओवादी नेतृत्वबाटै निमोठिएको जनयुद्ध

आज जनयुद्ध दिवस

माओवादी नेतृत्वबाटै निमोठिएको जनयुद्ध

आज जनयुद्ध दिवस

उपेन्द्रलाल कामी

–उपेन्द्रलाल कामी

विषय प्रवेश
कसैले स्वीकार गरोस् या नगरोस् ! विरोध गरोस या समर्थन ! नेपाली राजनीतिमा एक ऐतिहासिक एवं युगान्तकारी परिघटना हो माओवादी जनयुद्ध ! जसलाई माओवादीको नेतृत्वले सम्झौतामा टुङग्याएर २०७२ सालको नेपालको संविधानमा सशस्त्र द्धन्द्ध भनेर उल्लेख गरिएको छ । २०५२ फाल्गुन १ गते तत्कालिन ने.क.पा (माओवादी) को नेतृत्वमा सञ्चालन गरिएको जनयुद्धमा हजारौको बलिदान, लाखौ मान्छेलाई परिचालन गर्न र खरबौंको क्षति, ,पु¥ायाएर भएपनि करोडौको मान्छेहरुलाई प्रभावित पार्दै ब्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हिंसात्मक युद्ध राजनीतिको घटनालाई चाहेर पनि मेटाउन सकिदैन । माओवादी जनयुद्धको नकार र सकार पाटोमा समिक्षा हुनसक्छ तर चाहेर पनि घटनाक्रमलाई उपेक्षा गर्न सकिदैन । किन कि यो राजनितिक तथा समाज परिर्वतनको मुद्धासंग सम्बन्धीत भएर क्रान्तिको नाममा गरिएको सशस्त्र युद्ध थियो । बरु यो किन सम्झौतामा टुङगीयो ? नेतृत्वका बाध्यताहरु के थिए ? र अहिले जनयुद्ध गरेर आएको पाटीको हालत कस्तो छ । भन्ने बारेमा जतिपनि तार्किक व्याख्या विश्लेशन गर्न सकिन्छ तर तथ्यलाई नर्कान सकिदैन भन्ने कुरा नै यस आलेखमा चर्चा गर्न खोजिएको छ ।

(क) मृतक योद्धाहरुप्रति भावपुर्ण श्रद्धासुमन ! गहिरो समवेदना तथा हाद्धिक सम्मान !
तत्कालिन माओवादी जनयुद्धको क्रममा राज्यपक्षबाट र विद्धोही माओवादी पक्षबाट मारिएका योद्धा तथा मृतक व्यक्तिहरुप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु । साथै शहीदका परिवारजन तथा बेपत्ता योद्धाहरुको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै क्रान्तिको निम्ति भनेर गरिएको बलिदानको उच्च सम्मान गर्दछु । तत्कालिन राज्य र विद्धोही द्धन्द्धरत पक्षहरुमा मर्ने मारिने भनेका सर्व साधारण, उत्पीडीत वर्ग, समुदायका छोराछोरी नै थिए । जसले न्याय ,समानता, स्वतन्त्रता सहितको मुक्तिको सपना देखेर नै हाँसी–हाँसी वीरगति प्राप्त गरेका थिए भने राज्य पक्षका मृतकका सेना प्रहरीहरु पनि आफ्नो ड्युटी निर्वाह गर्ने क्रममा इमान्दारपुर्वक लडेरै वीरगति प्राप्त गरेका थिए । भलै लडाउने राज्य र माओवादी द्धन्द्धरत पक्षका नेतृत्वहरुको नियत खराव थियो भन्ने कुरा वर्तमान अवस्थाले पुष्टि गरिरहेका छन् ।

(ख) जनयुद्धको सम्झनामा उद्धेलित भावना
माओवादी जनयुद्धको बिपक्षमा रहेर द्वन्दपीडित भएकाहरुको बेग्ले अनुभूति र पीडा होलान । तर यो पंक्तिकार माओवादी जनयुद्धमा प्रत्यक्ष सामेल भएर युद्धदेखि शान्ति प्रकियासम्म निरन्तर खटिरहेको एक पुर्वयोद्धा हुनुको नाताले माओवादी पार्टीका धेरै नेता–कार्यकर्ताहरुसंग सहकार्य गर्दाका अविष्मरणीय क्षणहरुले मन उद्धेलित हुने गर्छ । लडाइमा आफ्नै आखाँ अगाडि सहयोद्धा साथी गुमाउदाको क्षण ! अँधेरी रातमा टर्च लाइट नबालेर भीर–पाखाहरुमा छामछाम–छुमछुम गर्दै साथीहरुको लावा–लस्करमा हिड्दाको क्षण ! कहिलेकाहि भोकै–प्यासै साथीहरुसंग हिड्दाखेरी जङगलमा चुत्राको कलिलो पात, लाली गुराँसको फूलहरु चपाएर मिठो मानी–मानी खाँदापनि साथीहरुसंग रमाउनसक्ने अचम्मको आत्मियता ! खतरायुक्त क्षेत्रमा जानुप¥यो भने बरिष्ठ कमरेडलाई सुरक्षा गर्न कनिष्ठ कमरेडले ओ.पि बनेर स्वस्फुर्त अगाडि हिड्ने नियमको परिपालना ! लडाईमा घाइते भएर पनि आफ्नो ज्यानको र घरपरिवारको भन्दापनि पार्टी र क्रान्तिको लागि चिन्ता गर्ने अद्धभुत विचार ! शाहीसेना वा पुलिसको कब्जामा परेर गिरफ्तार भइ हिरासतमा चर्को यातना पाउँदापनि हाँसेर ललकार्दै पार्टीको गोपनीयता बचाउने फलामे अनुशासन र जेलमा रहेका महिला छापामारहरुले सुरुङ खनेर जेलब्रेक गरेका अद्भूत साहसिक कार्य ! भर्खरै विवाह बन्धनमा बाधिएका जीवन साथीलाई लडाइको मैदानमा गुमाउँदाको पीडालाइ थेग्नसक्ने सहनशिल जीवन साथी–संगीनीहरु ! आफ्ना छोरा–छोरीहरु गुमाृउदा पनि पार्टीका नेता–कार्यकर्तालाई उच्च मनोबलका लागी हौसला दिने महान आमा–बुबाहरुको उर्जाशिल अभिव्यक्ति ! युद्धमा टुहुरा भएका साना नानी–बाबुहरुले पार्टीका नेता, कार्यकर्ता र जनमुक्ति सेनाहरुलाई आफ्नै आमा–बुबा सरह ठानेर पाइरहेको ममता ! राम्रोसंग भरुवा बन्दुक पनि नदेखेका सर्व–साधारण जनताले युद्धग्रस्त माओवादी आधार इलाकामा अत्याधुनिक हतियारहरुको सजिलै नाम भन्न सक्ने र चलाउन समेत जान्ने खालको युद्धज्ञान ! पार्टीका साथीहरुको चिठी–पत्र मात्र होइन जिम्मेवार कमरेड र युद्धसाम्रागीहरु समेत ओसार–पसार गरिदिने गरि सञ्चार पोष्टमा कार्यरत कमरेडहरुको इमान्दार खटन–पटन एवं लगाव ! जनयुद्धभित्रका थुपै घटनाहरुलाई कला–साहित्य गीत–संंगीतमा ढालेर प्रस्तुत गर्ने साहित्यकार तथा जनकलाकारहरुको अद्धभुत सिर्जना ! डोकोमा गणतन्त्र एफ.एम रेडियो र पोकोमा जनपक्षिय पत्रिकाहरु बोकेर जनताको घरदैलोमा पुयाउने क्रान्तिकारी पत्रकारहरुको बेजोड उर्जाशिल क्षमता ! बिना तलव लडाइँको अग्रमोर्चामा लड्ने जनमुक्ति सेनालाई आफ्नै छोराछोरी सरह प्यारो मानेर कुराउनी, घिऊ, सातु, गाई–भैसीका सुकुटीहरु जम्मा गरेर पठाइदिने महान जनताको मायाँ र भरोसा ! आधार इलााहरुमा निर्माण गरिएका जनसत्ता, जनम्युन, जनवादी शिक्षा दिने नमुना बिद्यालयहरु इत्यादी जनयुद्धभित्रका तमाम घटनाहरु जति वर्णन गरेपनि कमै हुन्छ । यि क्षणहरुलाई सम्झदै गर्दा ति साथीहरु अहिले कहाँ र कस्तो अवस्थामा होलान् ? भनेर मन असाध्यै उद्धेलित हुन्छ । वर्तमानमा माओवादी नेतृत्वहरुको सान–मान अनि विचलनलाई हेर्दा र जनयुद्धमा त्याग ,तपस्या एवं बलिदान गरेका अधिकांश इमान्दार कार्यकर्ता–योद्धाहरुको अहिले दर्दनाक अवस्था हेर्दा जनयुद्धभित्र आफैले देखे–भोगेका कथा–व्यथाहरु सुतेको बेला देखिने सपना जस्तै लाग्ने गर्छन् ।

(ग) जनयुद्धको पृष्ठभूमि
तत्कालिन ने.क.पा. (माओवादी) ले २०५२ साल फाल्गुन १ गते जनयुद्ध शुरुगर्ने अवस्था तथा वातावरण के–कस्तो थियो र कसरी जनयुद्धको पृष्ठभूमि तयार गर्ने वस्तुगत आधार बन्यो भन्ने कुरा हामीले जान्नैपर्ने हुन्छ । विश्वको करिब दुई तिहाइ भु–भागमा फैलिएर रहेको कम्युनिष्ट समाजवादी व्यवस्था आफ्नै कारणले ढल्दै गइरहेको र पूँजीवादी साम्राज्यवादले संसदीय व्यवस्थालाई लोतन्त्रको उत्तम प्रणालीको हवाला दिएर एकाधिार पूँजीवादलाई सुदृढ र बिस्तार गर्दै आइरहेको अवस्थामा कमरेड मदन भण्डारीले खासगरि शोभियत संघ रुस र चीनका कम्युनिष्ट पार्टी तथा ब्यवस्थाभित्रका निर्दलीय अधिनायकवादी त्रुटीहरुको गम्भीर समिक्षा गर्दै नेपालमा जनताको बहुदलीय जनवाद सिद्धान्त प्रतिपादन गरेर राजनीतिक कार्यदिशाको बिकास गर्नुभयो । पूँजीवादी साम्राज्यवादले संसदीय ब्यवस्थालाई आफ्नो वर्गिय स्वार्थसिद्ध गर्ने हतियारको रुपमा प्रयोग गर्दै आइरहेको स्थितीमा त्यहि हतियारलाई जनताको हितमा श्रमजीवी मजदुर–किसानको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीले प्रयोग गरेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने ज.ब.ज.को राजनीतिक कार्यदिशा थियो । जुन सिद्धान्त र नेतृत्व देशभित्रका सामन्तवादीहरु, भारतीय विस्तावाद र अमेरिकी साम्राज्यवादी शक्तिहरुको लागी टाउको दुखाइको विषय बन्यो र २०५० साल जेठ ३ गते ने.क.पा. (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जविराज आश्रतिको रहस्यमय ढंगले दास ढुङ्गा हत्याकाण्ड गराइयो ।
२०४६ सालको जनआन्दोलनले ३० वर्षसम्म राज गरेको निरकुंश पञ्चायती राजतन्त्रीय व्यवस्था ढालेर राजा, काग्रेस र बाममोर्चाको सम्झौताबाट संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना भएको थियो । राजाका असिमित अधिकारहरु कटौटी हुँदा दरवारलाई पटक्कै चित्त बुझेको थिएन र दरवारले बहुदलीय व्यवस्था कु गर्ने उपयुक्त मौका खोजिरहेको थियो । २०४८ सालको चुनावमा नेपाली काँग्रेस संसदमा सबैभन्दा ठुलो दल बनेर सरकारको नेतृत्व गर्न पुग्यो । नेपाली काँग्रेसको सरकारको पालामा कम्युनिष्ट बिचार आस्था राख्नेहरुप्रति असहिष्णु बनेर प्रहरी प्रशासनलाई दुरुपयोग गर्दै झुट्टा मुद्दा लगाएर सताउने, धरपकड–दमन गर्ने जस्ता जनबिरोधी क्रियाकलावको ज्यादतीले गर्दा मान्छेहरुलाई बिद्रोही बनेर प्रतिरोध गर्नुपर्ने बाध्यात्मक अवस्थातिर धकेल्दै गएको थियो । २०४६ सालको जनआन्दोलनले निरंकुश पञ्चायती ब्यवस्था ढालेको भएता पनि गाँउघरमा सामन्तहरुको शोषण, दमन, अन्याय, अत्याचार कायमै रहेको थियो । दलित समुदायमाथि गरिने जातीय भेदभाव,छुवाछुत प्रथा जब्बर रुपमा रहेको अवस्था थियो भने महिलामाथि हुने चरम लैङ्गिक हिंसा र असमानताले पनि न्याय, समानता, स्वतन्त्रताका लागि बिद्रोही सोंच भएका मान्छेहरुलाई क्रान्तिको लागी बन्दुक बोक्नुपर्ने बस्तुगत वातावरण बन्दै गएको थियो । जुन ने.क.पा. (माओवादी) का लागी जनयुद्धको शुरुवात गर्नुपर्ने अनुकुल बस्तुगत परिस्थिति बन्दै गएको थियो ।

(घ) माओवादीप्रति अमेरिका रहस्यमय आक्रामक, चीनको मौनता, भारत र दरवार सहयोगी
संयुक्त राज्य अमेरिका मूलतः हतियार र सूचना प्रबिधि उत्पादनमा आधारित पूँजीवादी अर्थतन्त्र भएको साम्राज्यवादी शक्ति राष्ट्र हो भन्ने कुरा सर्बबिदितै छ । पूँजीवादी लोकतन्त्रको आवरणमा बिश्वभर युद्धको ब्यवसायिक खेती गरेर हतियारको ब्यापार गर्ने र युद्धले जर्जर भएका देशहरुमा शान्ति र बिकासका लागी भन्दै आफ्नो सैन्य अखडा राखेर सरकारी संरचनामाथि र देशको श्रोत–साधनमाथि आफ्नो अधिपत्य जमाउने साम्राज्यवादी शक्ति राष्ट्रको रणनीति हुन्छ । माओवादीलाई आतंककारीको सूचिमा राखेर जनयुद्ध दवाउन नेपालको आफ्नो अनुकुलको सरकारलाई अमेरिकाले एकातिर आधुनिक हतियार–उपकरणहरु बेच्ने र सैन्य तालिम पनि दिने जस्ता काम गर्दै आयो भने अर्कोतिर अमेरिकामै हेडक्वार्टर रहेको क्रान्तिकारी अन्तराष्ट्रिय आन्दोलन (RIM) मार्फत माओवादी जनयुद्धका सवालहरुलाई अन्तराष्ट्रियकरण गर्नमा सहयोग पुग्नेगरि छद्म रुपमा (RIM) लाई परिचालन गर्ने ढंगले माओवादी जनयुद्धप्रति रहस्यमय रुपमा अमेरिका आक्रामक देखिएको थियो । जनयुद्ध कालभरी भारतले माओवादी पार्टीको केन्द्रीय हेडक्वार्टर र शिर्ष नेताहरुलाई सुरक्षा गर्नेदेखि लिएर केन्द्रीय समितिका बैठक, महाधिवेशन लगायतका कार्यक्रमहरु गर्दा र घाइते योद्धाहरुको उपचारमा अस्पताल भरिभराउ हुँदापनि थाह नपाए झै गरेर अप्रत्यक्ष रुपमा सहयोगी भूमिका मात्र खेलेन सातदल र माओवादी बचिमा बाह्रबुँदे सहमति दिल्लीमै हुँदाखेरी भारतले ब्यवस्थापकीय सहयोगी भूमिका निर्वाह गरेको कुरापनि सर्बबिदितै छ ।

२०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाले राजाका असिमित अधिकारहरु कटौती गरिदिएपछि संसदवादी राजनैतिक दलहरुप्रति रुष्ट भएको दरबारले माओवादीको मूल नेतृत्वसित २०५२ देखि २०५८ सालसम्म अघोषित रुपमा सहकार्य गर्दै आइरहेको थियो । माओवादी जनयुद्ध दवाउन भनेर नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले राजा बिरेन्द्र समक्ष सेना परिचालन गर्नुपर्ने प्रस्ताव लिएर नारायणहिटी राजदरवारमा जाँदा राजा बिरेन्द्रले अस्विकार गरिदिएको कुरा अहिले पनि दरवारका प्रतिनिधि र माओवादी नेतृत्वले स्वयंले बताउछन् । दरबार र माओवादी नेतृत्व बीचमा भएको अघोषित सहकार्य यतिसम्म बढ्दै गयो कि राजा बिरेन्द्र र प्रचण्ड बिचमा एकपटक आमने–सामने निर्णायक वार्ता गरेर राजा बिरेन्द्रलाई गणतन्त्रको राष्ट्रपति या संबैधानिक राजसंस्थाको सेरेमोनियल राजा स्वीकार गरेर प्रचण्डलाई कार्यकारी प्रधानमन्त्री बनाउने र काँग्रेस,एमाले लगायतका अन्य दलका शिर्ष नेताहरुलाई युद्ध अपराध तथा भ्रष्टाचारको अभियोग लगाएर आजीवन जेल हाल्ने सम्मको योजना बनाउनेगरि अनौपचारिक छलफल दरवारका प्रतिनिधिहरुसंग भएको हुँदा अमेरिका र भारतले यो कुराको संकेत पाइसकेपछि २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डमा राजा बिरेन्द्रको बंश नै बिनाश गर्ने तौरले षडयन्त्रका तानाबानाहरु बुनेर नेपालको राजनीतिलाई अर्कै मोडमा पु¥याइयो । छिमेकी शक्ति राष्ट्र चीनले अमेरिका, दिल्ली, दरबार र माओवादीको उपयोगितावादी राजनीतिक दाउपेचलाई नजिकैबाट नियालिरहेको हुँदा जनयुद्धकालभरी माओवादीका नेता, कार्यकर्ता र छापामारहरुलाई आफ्नो भूमिमा एक मिनेटपनि पाइला राख्न दिएन । न त अमेरिकाले जस्तो माओवादीलाई आतंककारीको सूचिमा राखेर दमन गर्न सरकारलाई सहयोग पु¥यायो । बरु चीनले यो नेपालको आन्तरिक मामिला भएकोले नेपाली आफैले समाधान गर्नुपर्दछ भन्दै पञ्छिएर आफ्नो मौनता देखायो ।

(ङ) माओवादी नेतृत्वबाटै निमोठिएको जनयुद्ध
भारतमा सुरुक्षित आश्रय लिएर दरबार र दिल्लीलाई उपयोग गर्न नाजायज सम्बन्ध राख्दै नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने सपना देखेका माओवादीका शिर्ष नेताहरु अन्ततः अमेरिका, भारत दरबारको स्वार्थ अनुरुप उपयोग भएर आफैले नेतृत्व गरेर १० बर्षसम्म सञ्चालन गरेको जनयुद्धलाई निमोठेर बन्ध्याकरण गर्न बाध्य हुनुप¥यो । माओवादी नेतृत्व प्रचण्डले जनयुद्धलाई नै निमोठ्नुपर्ने बाध्यता हुनुमा मुलतः भारतमा बसेर त्यहाँको बिद्रोही संगठन माओवादी कम्युनिष्ट केन्द्र र पिपुल्सवार ग्रुपलाइ मिलाएर छापामार गतिविधि बढाउन भूमिका खेल्ने र दक्षिण एशियाली माओवादी संगठनको समन्वय समिति गरेपछि भारतसंगको सम्बन्ध बिग्रीनु र २०५८ जेठ १९ गते नाराहिटि दरबार हत्याकाण्डमा राजा विरेन्द्धको वंश विनास भईसकेपछि दरबारसंघको अघोसित सहकार्य गर्न सम्बन्ध भत्किनुनै हो । दिल्ली र दरबारको स्वार्थलाई उपयोग गरिरहेको माओवादी नेतृत्वको सम्बन्ध बिग्रेर भत्किसकेपछि माओवादीलाई आतंङककारीको सुचीमा राखेको अमेरीकाले जनयुद्ध दबाउने नाममा नेपालमा आफ्नो सैन्य अखडा राख्न सक्ने खतरा बढ्नु, चीन र युरोपेली संघले माओवादीलाई सहयोग तथा सहानुभूति दिने स्थिति नहुनु, राजा ज्ञानेन्द्र माओवादीप्रति कठोर बन्दै संसदवादी दलहरुलाई बेवास्ता गर्दै जानुले सात राजनीतिक दलहरुसंग सहकार्य गर्दै राजा ज्ञानेन्द्रलाई तह लगाउने गरि दिल्लीमा १२ बुँदे सम्झौता गरेर जनआन्दोलन गर्न र जनआन्दोलन पश्चात बिभिन्न चरणमा सरकार–माओवादीको औपचारिक वार्ता गरेर बिस्तृत शान्ति सम्झौता मार्फत जनयुद्धको अन्त्य भएको स–गर्व घोषणा गरियो । त्यसपछिका दिनहरुमा माओवादी पार्टीभित्र कति धेरै अन्तरसंघर्ष र भाँडभैलो हुँदै पार्टी कति टुक्रामा बिभाजन भयो ? र अहिले माओवादी पार्टीको हालत कुन अवस्थामा छ भन्ने कुरा त्यति चर्चा गरिरहनु पर्दैन जुन पार्टीको वर्तमान अवस्था र नेतृत्वको गतिबिधिहरुले सबैकुरा स्पष्ट पारिरहेका छन ।

उपसंहार
अहिंसावादी गान्धीको देशमा बसेर माओको हिंसात्मक जनयुद्धको सिद्धान्तलाई शान्तिका अग्रदुत बुद्धभूमि नेपालमा प्रयोग गर्ने माओवादी नेतृत्वको सोंचमा असंगति मात्र थिएन पार्टीभित्र मौलाइरहेको बिकृति र बिसंगतिले दुखद अवसान हुने दिशातिर गयो । प्रचण्डलाई आफु बाँचुञ्जेल कसरि सुरक्षित रहेर राजकीय सेवा–सुबिधाहरु लिइरहने भन्ने चिन्ताले ग्रसित र त्रसित बनाइरहेको हुन्छ । अहिले प्रचण्डले चाहेर पनि जनयुद्धमा त्याग, तपस्या र बलिदानीको उच्च किर्तिमान गरेका योद्धाहरुलाई उचित ब्यवस्थापन गर्नसक्ने अवस्था छैन । नेपाल सरकारका बिभिन्न निकायहरुमा राजनीतिक नियुक्ति गर्दा होस या आफैले सरकारको नेतृत्व गर्दा नै किन नहोस् दिल्ली र दरबार निकटका मान्छेहरुलाई अवसर दिनुपर्ने र नचाहेर पनि सिद्धान्त नमिल्ने नेपाली काँग्रेस लगायतका पार्टीहरुसंग गठबन्धन गरेर सरकारको कुर्सि जोगाउनुपर्ने बाध्यता छ । दरबार र दिल्लीसंग बिगतमा गरेका अनैतिक सम्बन्ध र आत्मसुरक्षाको लागी नुनको सोझो प्रचण्डले गर्नैपर्ने हुन्छ । यसो नगरे मदन भण्डारी र राजा बिरेन्द्रको जस्तै हालतमा पुग्ने अवस्था आउछ । । कुनैदिन सर्वोच्च अदालतले प्रचण्ड लगायत केही नेताहरुलाई युद्ध अपराधको अभियोगमा आजीवन कारावासको सजाय सुनाएर फैसला गर्दा पार्टीको एकजना कार्यकर्ता सडकमा आएर बिरोध गरेन भनेपनि आश्चार्य मान्नु पर्दैन । किनकि अहिले प्रचण्डको वरिपरि झुम्मिने अवसरवादी भ्रष्ट दलालहरुको ठुलै जमात छ । ति मान्छेहरुले प्रचण्डलाई जतिबेला पनि मरेको सिनोलाई जुम्राले छोडे झै छोड्नेछन् । पार्टीका इमान्दार नेता–कार्यकर्ताहरु धेरैजसो तितरबितर भइसकेका छन् र त्यहि पार्टीभित्र रहेका उपेक्षित इमान्दार नेता–कार्यकर्ताहरु असन्तुष्टिको भारी बोकेर सकि–नसकि बाध्यताले हिडिरहेका छन् ।

यदि माओवादी नेतृत्वको दिमागमा साच्चीकै क्रान्ति गर्ने सोंच हुन्थ्यो भने बस्तुगत परिस्थितीले देश बाहिर आश्रय लिनुपरे पनि वा जनयुद्धलाई सम्झौतामा टुङ्ग्याउनु परेपनि क्रान्तिको निम्ती भनेर घर परिवार छोडेर पूर्णकालिन भएका हजारौंको संख्यामा रहेका संगठित जुझारु शक्तिलाई शान्ति प्रकृयामा आउदा सामुहिक उत्पादनको योजना बनाएर परिचालन गर्न सक्थ्यो र आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने हैसियत माओवादीले नै राख्थ्यो । अहिले आफैले निमोठेर बन्ध्याकरण गरिसकेको जनयुद्धलाई नेपाली काँग्रेस, ने.क.पा.(एमाले) लगायतका पार्टीहरुले गुनगान गाइदिउन भन्ने अपेक्षा गर्नु भनेको कुनै चरित्रहिन महिलाले परपुरुषसंग अनैतिक सम्बन्ध राखेर बच्चा जन्माउने र बच्चा हुर्केर १० बर्षजति भइसकेपछि बच्चाले आफ्नो बाबुको परिचय खोज्न थाल्यो भने आमाले नै रिसले गला दबाएर हत्या गर्ने अनि मारेको बच्चालाई अरुले शहीद भनेर सम्मान गरिदेउन भनेर रोइकराइ गरेजस्तो भएन र ! तर जे भएपनि नेपालका ठुला राजनीतिक पार्टीहरु ने.क.पा.(एमाले), नेपाली कााग्रेस लगायत नयाँ उदयीमान राजनीतिक दलहरुले एउटा स्वकिार्नैपर्ने तथ्य के हो भने जनयुद्धको बैचारिक नेतृत्व, सांगठनिक परिचालन तथा ब्यवस्थापन माओवादीले गरेको भएता पनि क्रान्तिको सपना देखेर बिना तलब निस्वार्थ भावले अहोरात्र खट्ने र त्याग, तपस्या, बलिदानीको किर्तिमान कायम गर्ने भनेका आधारभूत वर्ग समुदायबाट आएका जनताका होनहार छोराछोरीहरु नै भएकोले राजनीतिक पुर्वाग्रहको चस्मा फालेर मुक्तकंण्ठले सम्मान गर्नसक्नुपर्छ । यद्देपी जनयुद्ध कालमा फरक राजनीतिक आस्था राख्ने केही निर्दोष नागरिकहरुलाई गलत सूचनाको आधारमा सताउने देखि अंगभंग हुनेगरि यातना दिने र हत्या गर्ने सम्मका गम्भीर जघन्य अपराधिक त्रुटीहरु भएका छन् । जसलाई अहिले पनि सहि ढंगले न्यायिक निरुपण गर्न आवश्यक छ । अब हामी बितेका घटनाहरुबाट गम्भीर शिक्षा लिदै नयाँ भविष्य निर्माणका लागी वर्तमानमा नयाँ ढंगले लाग्न जरुरी छ । अनिमात्र शहीदहरुप्रति साँचो सम्मान र जनताप्रतिको जिम्मेवारी पुरा गरेको ठहरिने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार