सुर्खेत । सामाजिक, आर्थिक र राजनीतिक विकासमा महिलाको भूमिका महत्वपूर्ण हुने कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले बताउनुभएको छ ।
११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्खेतकाे बराहताल गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री बुढाले यो दिवस महिलाको सम्मान र अधिकारको पर्व भएको बताउनुभयो । ‘यो दिवस हामीलाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महिलाको स्थान र योगदानको महत्वबारे सोच्न र परिकल्पना गर्न प्रेरित गर्ने एउटा अवसर पनि हो,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले महिलामैत्री कानुन बनाउँदै उद्यमशीलता, सेवाप्रवाह र विकास निर्माणका काममा पनि जोडिरहेको छ ।’ महिला सशक्तिकरण, समानता र दिगो विकासले राष्ट्रलाई समृद्धिको बाटोमा डोर्याउने उहाँको भनाइ छ ।
मन्त्री बुढाले समाज र अर्थतन्त्रमा महिलाहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो । महिला उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्न, महिलाहरूको व्यवसायिक सीप र ज्ञान वृद्धि गर्न तथा वित्तीय स्रोतमा पहुँच पुर्याउन पनि प्रदेश सरकार प्रयत्नशील रहेको उहाँको भनाइ छ ।
कार्यक्रमका अन्य वक्ताहरुले समानता र महिला हकअधिकारका विषयमा जोड दिनुभो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीलगायत जनप्रतिनिधि, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । दिवसका अवसरमा गाउँपालिकाले विभिन्न प्रतियोगितासमेत सञ्चालन गरेको थियो ।