मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमले जनसभा गरेको छ । पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत आज जिल्ला सदरमुकाम मुसिकोट खलंगामा जन सभा सम्पन्न गरिएको एमालेले जनाएको छ।
लोकतन्त्रको जगेर्ना, संसद् पुनर्स्थापना, जेन जी आन्दोलनको छानबिन, दोषीलाई कारबाही, संविधानको सुरक्षाका लागि विभिन्न एजेन्डासहित वडा, पालिका हुँदै आज जिल्ला सदरमुुकाम अन्तरगत जनप्रदर्शन तथा जनसभा आयोजना गरिएको एमालेले जनाएको छ।
बागबजारस्थित पार्टी कार्यालयबाट निकालिएको जनप्रदर्शन र्याली बागबजार, त्रिवेणी चोक, खलंगा बजार हुँदै बालमन्दिर प्राङगनमा पुुगेर सभामा परिणत भएको थियो।
जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा भएको जनसभामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोविन्द केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा नेकपा एमालेका प्रदेश सदस्यहरू टङ्कप्रसाद ओली, हरिप्रसाद शर्मा, कौशिला केसी, कर्णबहादुर ओली, कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल, पूर्व कर्णाली प्रदेश सदस्य नारायणकुमार शाह, जिल्ला उपसचिवहरू तिलक बस्नेत र व्युझना पुन देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष मनवीर घर्तीको स्वागत मन्तव्य रहेको सभाको सञ्चालन जिल्ला सचिव शशीराम नेपालीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय तहबाट पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको एमाले रुकुम पश्चिमले जनाएको छ ।



