नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जना पक्राउ

नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मिति २०८२ माघ १७ गते सञ्चालन भएको परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने, नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात प्रयोग गर्ने तथा आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले नक्कली परीक्षार्थी, परीक्षा दिन लगाउने तथा मतियारको भूमिकामा रहेका १२ जनालाई नियन्त्रणमा लिई लिखत किर्ते तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका–११ का केशव थापा, दैलेख दुल्लु नगरपालिका–१ का रमेश नेपाली, सुर्खेत गुर्भाकोट नगरपालिका–१३ का वीरबहादुर ठाडा, जाजरकोट कुसे गाउँपालिका–२ का विपेश सिंह, ललित रावल, सूर्य किरण शाही, निरज शाही र नवराज विक, जाजरकोट छेडागाड नगरपालिका–१० का चन्द्र शाह, बाँके बैजनाथ गाउँपालिका–२ का रामु कार्की, बैजनाथ–१ का मोतिलाल थारु तथा जाजरकोट कुसे गाउँपालिका–२ घर भई हाल वीरेन्द्रनगर–९ बस्ने पूर्णबहादुर सिंह रहेका छन्।

प्रहरीका अनुसार केशव थापा, रमेश नेपाली, वीरबहादुर ठाडा, चन्द्र शाह, नवराज विक, रामु कार्की र मोतिलाल थारु नक्कली परीक्षार्थीका रूपमा सहभागी भएका थिए भने केहीले परीक्षा दिन लगाउने र मतियारको भूमिका खेलेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार