काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत देशभरका ६७ वटा आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले सिटिइभिटी केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।
साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सिटिइभिटी व्यवस्थापनले आफ्ना मागप्रति कुनै सुनुवाइ नगरेपछि उनीहरूले कार्यालय घेराउ गरेका हुन्।
आन्दोलनरत कर्मचारीहरूले ‘समान कामका लागि समान ज्याला’ लाई मुख्य नाराका रूपमा अघि सारेका छन्।
उनीहरूका मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्।
लामो समयदेखि परिषद् मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्।
करार तथा ज्यालादारी केन्द्रीय सङ्घ समिति सह–संयोजक इ. युकेश गौतमले साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा समेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि पूर्वघोषित कार्यक्रमअनुसार केन्द्रीय कार्यालय घेराउ गरिएको बताए।
देशभरिका करिब २,२०० करार तथा ज्यालादारी श्रमिकहरूले सिटिइभिटी केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।

