काठमाडौं । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।
ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कर्णाली प्रदेश (भूगोलतर्फ) खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।
उहाँ सहिद हरिभक्त ओलीका एकमात्र छोरा हुनुहुन्छ। द्वन्द्वकालमा तत्कालीन माओवादीबाट हत्या गरिएका नेपाली कांग्रेस रुकुमका नेता तथा तत्कालीन जिल्ला विकास समितिका सभापति हरिभक्त ओली रुकुमेली जनतामाझ भरोसाका केन्द्रका रूपमा स्थापित हुनुहुन्थ्यो ।
बुबा हरिभक्त ओलीको त्याग, संघर्ष र राजनीतिक आदर्शलाई आत्मसात् गर्दै प्रेमप्रकाश ओली लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।
ओलीले यसअघि दुई पटक नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएको छ र हाल पनि उहाँ नेपाली कांग्रेस रुकुम पश्चिमको सभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।

