को हुन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका प्रेम प्रकाश ओली ?

को हुन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका प्रेम प्रकाश ओली ?

काठमाडौं । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कर्णाली प्रदेश (भूगोलतर्फ) खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।

सहिद परिवारको राजनीतिक पृष्ठभूमिबाट आएका ओली लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ नेपाली कांग्रेसका दिवंगत नेता तथा तत्कालीन रुकुम जिल्ला विकास समितिका सभापति सहिद हरिभक्त ओलीका एकमात्र छोरा हुनुहुन्छ ।

कांग्रेस नेता स्वर्गीय हरिभक्त ओलीको २०५५ साल माघ १ गते तत्कालीन माओवादीद्वारा हत्या भएको थियो । बुबाको राजनीतिक संघर्ष र आदर्शबाट प्रभावित प्रेमप्रकाशले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउनुभएको हो। त्यतिबेला उहाँ २४ वर्षको हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनसम्म

ओली २०४७ सालमा नेपाल विद्यार्थी संघ चौरजहारी, रुकुमको अध्यक्ष बन्नुभएको थियो। त्यसपछि २०४८ सालमा नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ समितिको सहसचिवको जिम्मेवारी सम्हाल्नुभयो । सोही वर्ष उहाँ स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा समेत निर्वाचित हुनुभएको थियो ।

पार्टी राजनीतिमा निरन्तर सक्रिय रहनुभएका ओली २०५५ सालमा नेपाली कांग्रेस रुकुमको जिल्ला कार्यसमिति सदस्यमा मनोनित हुनुभयो । २०५७ सालको दशौँ महाधिवेशनदेखि १३औँ महाधिवेशनसम्म उहाँ निरन्तर महासमिति सदस्य रहनुभयो ।

२०५८ सालमा उहाँ नेपाली कांग्रेस जिल्ला तदर्थ समितिको उपसभापति बन्नुभयो भने २०५९ देखि २०६७ सालसम्म जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नुभयो । यही क्रममा उहाँले नेपाली कांग्रेस केन्द्रीय विभागअन्तर्गत द्वन्द्व व्यवस्थापन तथा शान्ति प्रक्रिया विभागको सदस्यका रूपमा समेत काम गर्नुभयो ।

निर्वाचनदेखि केन्द्रीय जिम्मेवारीसम्म

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओली नेपाली कांग्रेसका तर्फबाट रुकुम क्षेत्र नं. २ को उम्मेदवार बन्नुभएको थियो ।

त्यसपछि २०६५ सालमा पुनः नेपाली कांग्रेसको केन्द्रीय विभागको सदस्य तथा २०६८ सालमा नेपाली कांग्रेस राप्ती अञ्चल समन्वय समितिको सदस्यको जिम्मेवारीमा रहनुभयो ।

पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय ओलीले अन्तर्राष्ट्रिय संस्था टिम नेपालद्वारा सञ्चालित चौरजहारी मिसन अस्पतालको अध्यक्षका रूपमा चार वर्ष जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

लामो समयदेखि रुकुम कांग्रेसको नेतृत्वमा

२०७२ साल फागुनमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट अत्यधिक मतसहित नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिमा निर्वाचित हुनुभएका ओली सातौँ जिल्ला अधिवेशनबाट पुनः सर्वसम्मत सभापतिमा चयन हुनुभयो । हाल उहाँ नेपाली कांग्रेस रुकुम पश्चिमको सभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।

जिल्ला तहमा लामो समय संगठनको नेतृत्व गरेको अनुभव बोकेका ओलीले यसपटक पहिलोपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । कर्णाली प्रदेशको भूगोलतर्फ खुला समूहबाट उम्मेदवारी दिएका ओलीको राजनीतिक यात्रा विद्यार्थी संगठनदेखि जिल्ला नेतृत्व हुँदै अब केन्द्रीय तहको प्रतिस्पर्धासम्म आइपुगेको छ ।

उनको उम्मेदवारीसँगै लामो समय रुकुम कांग्रेसको संगठन निर्माणमा बिताएको अनुभव, सहिद परिवारको राजनीतिक विरासत र जिल्लामा निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई मुख्य आधारका रूपमा हेरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार