प्रवासमा रहेका युवाको सहयोगमा हाँसुमा नयाँ खेलमैदान निर्माण

प्रवासमा रहेका युवाको सहयोगमा हाँसुमा नयाँ खेलमैदान निर्माण

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, हाँसु गाउँमा प्रवासमा रहेका युवाहरूको आर्थिक सहयोगमा नयाँ खेलमैदान निर्माण गरिएको छ । गाउँमा खेलकुद गतिविधिको विकास गर्ने र स्थानीय युवाहरूको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले युवाहरूले आर्थिक सहयोग जुटाएर खेलमैदान निर्माण गरेका हुन् ।

यसअघि हाँसुस्थित आधारभूत विद्यालयको सानो खेलमैदानमा कोटखाली मेला तथा अन्य अवसरमा भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । तर, साँघुरो मैदानका कारण प्रतियोगिता सञ्चालन गर्न असहज भएपछि नयाँ खेलमैदान निर्माणको आवश्यकता महसुस गरिएको थियो ।

विशेषगरी भलिबल खेलप्रति स्थानीय युवाहरूको बढ्दो रुचि र आवश्यकतालाई ध्यानमा राख्दै प्रवासमा रहेका युवाहरूले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । अब नवनिर्मित खेलमैदानमा एकैपटक पुरुष र महिलातर्फका दुईवटा भलिबल खेल सञ्चालन गर्न सकिनेछ ।

खेलमैदान निर्माणका लागि प्रवासमा रहेका युवाहरूबाट कुल २ लाख ३१ हजार ६ सय २७ रुपैयाँ ४४ पैसा संकलन भएको छ । संकलित रकमबाट खेलमैदान निर्माण गर्नुका साथै आवश्यक तारजाली लगाउने योजना रहेको आर्थिक सहयोग अभियानका सदस्य तथा हाल अमेरिकामा रहनुभएका वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो।

आगामी डिग्रे पूर्णिमाको अवसरमा लाग्ने कोटखाली मेलामा यही खेलमैदानमा भलिबल प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार