सानीभेरीका २३७ भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा

सानीभेरीका २३७ भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा

मुसिकोट । भूकम्पबाट प्रभावित रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका २३७ जना लाभग्राहीको बैंक खातामा आवास पुनर्निर्माणको पहिलो किस्ताबापतको रकम जम्मा गरिएको छ।

गाउँपालिकाले प्रति लाभग्राही ५० हजार रुपैयाँका दरले कुल १ करोड १८ लाख ५० हजार रुपैयाँ सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिनुभएको छ।

पहिलो किस्ताको रकम प्राप्त भएसँगै अब आवास पुनर्निर्माणको कामले गति लिने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

गाउँपालिकाका ११ वटै वडाका लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन्। वडागत विवरणअनुसार वडा नम्बर १ का १३ जना, वडा नम्बर २ का ८ जना, वडा नम्बर ३ का २५ जना, वडा नम्बर ४ का ३६ जना, वडा नम्बर ५ का १६ जना, वडा नम्बर ६ का १२ जना, वडा नम्बर ७ का १७ जना, वडा नम्बर ८ का ३३ जना, वडा नम्बर ९ का १७ जना, वडा नम्बर १० का २३ जना र वडा नम्बर ११ का ३७ जना लाभग्राही रहेका छन्।

पहिलो किस्ताको रकम वितरणका लागि सहयोग गर्ने स्थानीय तथा जिल्ला विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू तथा गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीहरूप्रति प्रमुख प्रशासकीय अधिकृत खड्काले आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँले आवास पुनर्निर्माणको काम अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसका लागि सम्पूर्ण लाभग्राहीको सकारात्मक सल्लाह, सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

त्यस्तै, पुनर्निर्माणसम्बन्धी कार्यविधिमा रहेका अप्ठ्यारा तथा दुविधाहरू संशोधन भई सबै लाभग्राहीको आवास निर्माण हुने विश्वास व्यक्त गर्दै उहाँले आवास निर्माण सम्झौता तथा अन्य आवश्यक जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा सम्पर्क गर्न लाभग्राहीलाई अनुरोध गर्नुभएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार