चुनाव वैशाखमै हुन्छ : प्रधानमन्त्री ओली

चुनाव वैशाखमै हुन्छ : प्रधानमन्त्री ओली

फाइल फोटो

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा पनि आउँदो वैशाखमा चुनाव हुने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रधानमन्त्री ओली समूहको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक र कानुनी रूपमा प्रतिनिधि सभा पुनर्स्थापना सम्भव नरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले आउँदो वैशाख १७ र २७ गते चुनाव हुने विश्वास दिलाउनुभएको हो । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव राम्रो मानिस जिताएर पठाउन आग्रह गर्दै देश विकास गर्ने जिम्मा आफूले लिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले गरेको विकासको काम तपाईँहरूले देख्नुभएको छ, म थप विकासको काम लागिरहेको छु ।’

उहाँले तीन करोड नेपालीमा दुई सय ६५ जना अलग हुँदा आफूलाई कुनै फरक नपर्ने पनि बताउनुभयो । उहाँले सुदूरपश्चिमबाट प्रचण्ड–माधव समूहलाई अबको चुनावमा १० सिटमात्र जितेर देखाउन पनि चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पछाडि परेको भन्दै प्रदेशको विकासका लागि लाग्ने पनि बताउनुभयो । गेटा मेडिकल कलेज र विश्वविद्यालयका रूपमा विकास गर्दैछौँ, अत्तरिया–धनगढी बाटो चाँडै सम्पन्न हुँदैछ, विमानस्थलको क्षमता वृद्धि गर्ने काम अघि बढिरहेको छ, गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार