तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयन  

तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयन  

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालु शैक्षिकसत्रबाट कार्यान्वयनमा आएको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गङ्गाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको बताए। तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन्।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो। दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ। पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक सङ्घसंस्थालगायतका विषय समेटिएको छ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकाले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समितिका संयोजक दामोदर भुसालले बताए। स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को अवधारणालाई पनि समेटिएको छ। पूर्ण सरसफाइउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटको हो।

चकलेट, जङ्कफुडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधारणा ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को रहेको छ। यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाइमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ।

नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो।

विद्यालयले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन्। पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार