ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो ।

महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् ।

सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् । पेलोसीले आइतबार साँझ आफ्ना साथीहरुलाई पठाएको पत्रमा लेखिएको छ, ‘हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौं । किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन् । हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन् । त्यसैले कारबाही तत्काल आवश्यक छ ।’

महाअभियोग प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको आरोप लगाइएको छ । साथै ट्रम्पमाथि संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप पनि छ ।

गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । सो हिंसामा एक जना प्रहरी अधिकारी र चार जना सर्वसाधारणको मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार